
काठमाडौं – अभिनेता तथा निर्देशक विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’ को एक्सन-प्याक्ड टिजर सार्वजनिक गरिएको छ। झन्डै दुई मिनेट लामो यस टिजरमा संवादभन्दा बढी एक्सन (गोली र किक) लाई प्राथमिकता दिइएको छ। २०८१ सालको ब्लकबस्टर चलचित्र ‘१२ गाउँ’ को सिक्वेलको रूपमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्र आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउँदैछ।
सार्वजनिक टिजर विराज भट्टको भ्वाइस ओभरबाट सुरु हुन्छ, जसमा समीर भट्टका एक्सन दृश्यहरूलाई विशेष स्थान दिइएको छ। टिजरको सबैभन्दा रोचक पक्ष भने विराज र समीरलाई दुई शक्तिका रूपमा एकसाथ प्रस्तुत गर्नु हो, जसले चलचित्रमा उनीहरूबीच नै भयानक टकराव हुने र युद्धको फैसला एक जनाको अन्त्यले मात्र गर्ने संकेत गरेको छ।
सरस्वती भट्टको निर्माण रहेको यस चलचित्रमा विराज भट्ट र समीर भट्टका साथै अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी र अर्जुन आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सन्तोष सरकारको लेखन रहेको यस चलचित्रको प्राविधिक पक्षतर्फ महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन (एक्सन) रहेको छ। त्यसैगरी, चलचित्रमा कालाचरणको पार्श्व सङ्गीत (बीजीएम) र गीता गुरप्पाको ध्वनि संयोजन समावेश छ।



