मार्मिक देखिने गरी चलचित्र ‘आ बाट आमा २’ को फस्टलुक पोस्टर सार्वजनिक



काठमाडौं – हरितालिका तीजको अवसर पारेर नेपाली चलचित्र ‘आ बाट आमा २’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। “चर्किएको यो घरले फेरि सोध्यो… ’यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा??” बोलको भावुक स्लोगनसहित सार्वजनिक पोस्टरले चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, वैदेशिक रोजगारीले निम्त्याएको दूरी र सन्तानको पर्खाइमा रहेका आमाबाबुको कारुणिक कथालाई प्रस्तुत गरेको छ।

सार्वजनिक पोस्टरमा फुटेका सिसा र पुराना तस्बिरहरूमार्फत भत्किएको परिवार र छिन्नभिन्न यादहरूलाई कलात्मक ढंगले संकेत गरिएको छ। पोस्टरमा चलचित्रका कलाकारहरू विपना थापा, प्रदीप रावत, पल शाह र साइग्रेस पोखरेल लगायतलाई दशैंको माहोलमा खुसीका साथै भावुक मुद्रामा देखाइएको छ। अघिल्लो वर्षको सुपरहिट चलचित्र ‘आ बाट आमा’ को यस सिक्वेलमा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको निर्देशन, कथा तथा पटकथा चन्द्र पन्तले तयार पारेका हुन्। प्राविधिक पक्षतर्फ साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा करणसिंह रसालीको प्रोडक्सन व्यवस्थापन रहेको छ। आगामी असोज ३० गते (फूलपातीको अघिल्लो दिन) बाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई आर आर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu