
काठमाडौं – निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला झण्डै दुई महिना लामो उपचार र स्वास्थ्य लाभपछि काममा फर्किएकी छन्। असारको अन्त्यतिर ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया गराएकी उनी चिकित्सकको सल्लाहपश्चात् यसै सातादेखि आफ्नो नियमित काममा सक्रिय भएकी हुन्।
काममा फर्किएसँगै उनी टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को छायांकन सेटमा पुगेकी छन्। सेटमा शोका कलाकारहरूले उनलाई फूलको गुच्छासहित स्वागत गरेका थिए। लामो समयपछि सेटमा फर्किँदा प्रफुल्ल देखिएकी दीपाश्री यतिबेला चलचित्र ‘छ माया छपक्कै २’ र ‘पाँच पाण्डव’ को डबिङ कार्यमा समेत संलग्न भएकी छन्। हालसम्म पनि दर्शक तथा प्रशंसकहरूले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरिरहेका छन्।



