
काठमाडौं – हरितालिका तीजको अवसरमा सोमबार नेपाली फिल्म ‘बेहुली’ले देशभर आक्रामक व्यापार गरेको छ। देशभर डेढ सय शो पाएको यस फिल्मले तीजको दिन मात्रै ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाइ गर्ने अनुमान वितरक गोविन्द शाहीले गरेका छन्। पूर्वदेखि पश्चिमसम्मका हलहरू दर्शकले खचाखच भरिएका छन् भने कलाकारको कामलाई लिएर उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ। आगामी दिनमा पनि फिल्मको कमाइ अझ बढ्ने अपेक्षा गरिएको छ।
चर्चित तथा लोकप्रिय सङ्गीतकारबाट यसै फिल्ममार्फत पहिलो पटक निर्माता बनेका अर्जुन पोखरेलले स्वतन्त्र रूपमा सङ्गीत सिर्जना गर्नुभन्दा फिल्म निर्माणमा आउँदा आर्थिक लगानीको ठूलो दबाब महसुस भएको बताएका छन्। यद्यपि, दर्शकबाट पाएको अपार माया र ९० प्रतिशत सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उनले सुनाए। दर्शकको यही साथलाई आत्मसात् गर्दै उनले अब हरेक वर्ष एउटा फिल्म बनाउने घोषणा गरेका छन्। आगामी मङ्सिरमा नयाँ फिल्मको घोषणा गर्ने तयारीमा रहेका अर्जुनले २०८४ सालमा ‘बेहुली’को दोस्रो शृङ्खला दर्शकमाझ ल्याउने जानकारी दिएका छन्।
यसैबीच चलचित्रका मुख्य कलाकारहरू पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, निर्देशक सशान कँडेल लगायतको टोली चितवन पुगेको छ। चितवनमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेका छन्।
यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ। यस चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गरेका हुन्। चलचित्रका प्रस्तुत कर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।



