
काठमाडौं – सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको दयाहाङ राई र मिरुना मगर अभिनित नयाँ नेपाली चलचित्र ‘रातो घेरा–द रेड सर्कल’ को छायांकन सम्पन्न भएको छ। काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा ‘इन्डक्ल्याप’ गर्दै चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ। काफिया फिल्म्सले वितरण अधिकार लिएको यो चलचित्र आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस चलचित्र सत्य घटनामा आधारित रहेको छ। मानवीय सम्बन्ध र भावनात्मक विषयवस्तुलाई रहस्यसँग जोडेर प्रस्तुत गरिएको यस चलचित्रमा दयाहाङ र मिरुनाका साथै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका गीतहरूमा प्रदीप लामा र जुना सुन्दासको अभिनय तथा कोरियोग्राफी देख्न सकिनेछ।
जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ र सरुन शेरचन निर्माता रहेको यस चलचित्रका सह-निर्माता सुमन गुरुङ र खेम राना हुन्। राजु स्याङताङको कथा तथा पटकथा रहेको चलचित्रलाई शिशिर बिसंखेले छायांकन गरेका हुन् भने सम्पादन जीवन थापाले गरेका छन्। चलचित्रमा मनोज थापा मगर र सागर आलेको सङ्गीत रहेको छ जसमा सागर आले र शान्तिश्री परियारले स्वर दिएका छन्। उच्च प्राविधिक गुणस्तर र बलियो कथावस्तुका कारण यसलाई एक प्रतीक्षित चलचित्रको रूपमा हेरिएको निर्माण पक्षले जनाएको छ।



