आगामी अस्कर अवार्डका लागि नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट



काठमाडौं – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा नेपालको तर्फबाट चलचित्र ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जनाएको छ ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार यस वर्षको अस्कर प्रतिस्पर्धाका लागि नेपालबाट दुईवटा नेपाली कथानक चलचित्रहरू ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए ।

प्राप्त यी दुई चलचित्रमध्ये एकेडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षहरूको मूल्याङ्कन गरेको थियो । चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गरिएको गहन अध्ययनपश्चात् ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’लाई उत्कृष्ट ठहर गर्दै छनोट गरिएको समितिले जनाएको छ ।

समितिमा अध्यक्ष लक्ष्मीनाथ शर्मा तथा सदस्यहरू कपिल पराजुली, विकास सुवेदी, गौतम धिमाल, जीवन कुमार पराजुली र सदस्य सचिवको रूपमा चिरन्जिवी गुरागाईँ रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu