‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक द्वन्द्व र आमाको ममता प्रस्तुत



काठमाडौं – आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा दाजुभाइ तथा देउरानी-जेठानीबीचको झगडा, आमाको ममता र सन्तानको प्रेमलगायतका पारिवारिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक भएको चलचित्रको ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज गीत सामाजिक सञ्जालमा भाइरल हुँदै ३७ लाखभन्दा बढी भ्युज पाउन सफल भएको छ भने यसको पहिलो शृङ्खला ‘झिंगे दाउ’ ले पनि युट्युबमा ८० लाखभन्दा बढी भ्युज बटुलिसकेको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ। कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता रहेका छन्।

गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन्। प्राविधिक पक्षतर्फ विष्णु घिमिरे ‘कल्पित’ को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको छ। निर्माण पक्षका अनुसार सार्वजनिक ट्रेलरले दर्शकलाई हलसम्म तान्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu