
काठमाडौं । ‘परान’ जोडीका रूपमा चिनिएका महेश त्रिपाठी र अञ्जना बराइली अभिनीत चलचित्र ‘आशा’को प्रदर्शन करिब डेढ महिना पछि सरेको छ। माघ १ गते प्रदर्शन गर्ने लक्ष्यसहित यसको छायांकन सुरु गरिएको थियो। अब यो चलचित्र फागुन १४ गतेदेखि हलमा आउने भएको छ।
नयाँ मितिको घोषणा सोमबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै गरिएको हो। पोस्टरमा महेश किरियामा बसेका देखिन्छन्, भने अञ्जना ढोकाबाट उनलाई हेरिरहेकी छन्। पृष्ठभूमिमा माला लगाइएको शुशांक मैनालीको तस्बिर छ। त्यस्तै आशान्त शर्मा पण्डितको भेषमा गरुड पुराण वाचन गरिरहेका देखिन्छन्।
पोस्टरले चलचित्रको कथा परिवारमा आइपरेको शोकमा केन्द्रित रहेको संकेत गरेको छ।
राजिव गुरुङले चलचित्रको लेखन र निर्देशन गरेका हुन्। मुख्य जोडीसँगै सुशील सिटौला, केनिपा सिंह र कविता रेग्मी लगायतको पनि अभिनय छ। बाल कलाकारका रूपमा चिराग श्रेष्ठ र काश्वी भण्डारी देखिनेछन्।
उडान स्टुडियोको प्रस्तुतिमा बनेको चलचित्रकी निर्माता शर्मिला थापा हुन्। कांग्रेस नेतृ थापा निर्देशक गुरुङकी श्रीमती पनि हुन्। चलचित्रको वितरण रिच इन्टरटेन्मेन्टले गर्नेछ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन छ। युग भुसाल र एसडी योगीले संगीत भरेका हुन्। ध्वनि डिजाइन किशोर आचार्यको, सम्पादन लोकेश बज्राचार्यको, र स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशन सुदाम सिकेको हो। चलचित्रको छायांकन काठमाडौं उपत्यका, नमोबुद्ध र धुलिखेल क्षेत्रमा गरिएको थियो।


