
काठमाडौं । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्। शनिबार ललितपुरको होटल रोयल ट्युलिपमा भएको संघको ५२औँ साधारणसभाले उनको नेतृत्वमा तीन वर्षका लागि नयाँ कार्यसमिति चुनेको हो।
अध्यक्ष पदमा जबरा र गोपालकाजी कायस्थबीच प्रतिस्पर्धा भएको थियो। मतगणनामा जबराले ५३ मत पाए भने कायस्थ ३७ मतमा सीमित भए। जबरा नयाँ बानेश्वरस्थित वान सिनेमाजका सञ्चालक हुन्।
सदस्यहरू भने अधिकांश निर्विरोध चुनिए। खुलातर्फ आशिष तामाङ, दुर्गालाल प्रधान, मिजास पोखरेल र योगेन्द्र मल्ल ठकुरी निर्विरोध निर्वाचित भए। वितरकतर्फ करण श्रेष्ठ र गोविन्दबहादुर शाही पनि निर्विरोध नै चुनिए।
प्रदेश सदस्यतर्फ कोशी र मधेश प्रदेशबाट चैतन्य बराल निर्वाचित भएका छन्। बागमतीबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चुनिएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्यमा कर्णालीका डा. सिंह गुरुङ निर्विरोध निर्वाचित भए।
संघको विधानअनुसार प्रथम उपाध्यक्षदेखि महासचिवसम्मका पदाधिकारी निर्वाचित सदस्यहरूबीचको सहमतिबाट छानिने बताइएको छ।
वि.सं. २०१३ मा स्थापित नेपाल चलचित्र संघ देशभरका हल सञ्चालक र चलचित्र वितरकहरूको छाता संगठन हो। भुवनेश्वर अमात्य यसका पहिलो अध्यक्ष थिए। त्यसपछि प्रदीप कुमार उदय, मधुसूदन प्रधान, वीरेन्द्रनारायण श्रेष्ठ र नरेन्द्र महर्जनलगायतले संघको नेतृत्व गरिसकेका छन्।


