‘डेनी डेन्जरस’मा धीरज मगर, समीरले भने – मसँग कुरै भएको छैन



अभिनेता धीरज मगर र निर्देशक निश्चल बस्नेत

काठमाडौं । निर्देशक निश्चल बस्नेतले दुई वर्षअघि घोषणा गरेको ग्याङ्स्टर फिल्म ‘डेनी डेन्जरस’ यसै वर्ष बन्ने भएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता धीरज मगरसँग सम्झौता भइसकेको छ।

घोषणापछि निश्चल अर्को फिल्मको तयारीमा लागेका थिए। विभिन्न कारणले त्यो योजना अघि बढ्न सकेन र उनी फेरि ‘डेनी डेन्जरस’मै फर्किए। फिल्मको पटकथा तयार भइसकेको छ। अहिले कलाकार छनोटको काम भइरहेको छ।

केही दिनदेखि यस फिल्मको मुख्य भूमिकाका लागि अभिनेता समीर भट्टलाई प्रस्ताव गरिएको चर्चा थियो। तर समीरले बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो कुनै कुरा नभएको स्पष्ट पारे। उनका अनुसार फिल्मबारे कुनै पनि टोलीले उनीसँग भेटेको वा छलफल गरेको छैन। त्यसपछि निर्देशक निश्चलले पनि फेसबुकमार्फत समीरको कुरामा सहमति जनाए।

स्रोतका अनुसार निश्चलले करिब एक वर्षअघि नै धीरजलाई यो फिल्मको प्रस्ताव गरेका थिए। केही साताअघि दुवैबीच लिखित सम्झौता भएको हो। धीरजले फिल्ममा ग्याङ्स्टरको भूमिका निभाउने बताइएको छ र उनी अहिले पात्रको तयारीमा जुटेका छन्।

फिल्म ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा बन्दैछ। अभिनेत्री स्वस्तिमा खड्का यसकी निर्माता हुन्, तर उनी फिल्ममा अभिनय गर्ने छैनन्। पटकथा निश्चल बस्नेत र आकाश बरालले लेखेका हुन्।

फिल्मको छायांकन पुसबाट सुरु गर्ने योजना छ। निर्माण पक्षले आगामी दिनमा औपचारिक घोषणा कार्यक्रम गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu