१७ दिनमा ५० लाख पनि कमाउन सकेन ‘पाँच पाण्डव’, तेस्रो सातामा आइपुग्दा देशभर दुई शो मात्र



चलचित्र ‘पाँच पाण्डव’को पोस्टरमा हरिवंश आचार्यसहितका कलाकार

काठमाडौं । तिहारको मौका छोपेर प्रदर्शनमा आएको चलचित्र ‘पाँच पाण्डव’ बक्स अफिसमा नराम्ररी असफल भएको छ। प्रदर्शन भएको १७ दिनसम्ममा यसले ५० लाख रुपैयाँ पनि कमाउन सकेको छैन। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार मंसिर ६ गतेसम्म चलचित्रको कुल ग्रस व्यापार ४५ लाख २२ हजार ३८८ रुपैयाँ छ।

कात्तिक २० गते प्रदर्शनमा आएको चलचित्रले पहिलो १० दिनमा ४३ लाख ५० हजार ४९३ रुपैयाँ कमाएको थियो। त्यसपछिको सात दिनमा भने यसको व्यापार १ लाख ७१ हजार ८९५ रुपैयाँमा सीमित भयो। यस अवधिमा ५९६ जना दर्शक मात्र हलसम्म पुगे। आइतबारसम्म चलचित्र हेर्ने कुल दर्शक १२ हजार ८९० जना पुगेका छन्।

चलचित्र अहिले तेस्रो सातामा छ। तर देशभरका हलमा यसका दुईवटा शो मात्र बाँकी छन्।

वसन्त निरौलाको निर्देशनमा बनेको यो चलचित्रमा ६ करोड रुपैयाँभन्दा बढी लगानी भएको बताइएको छ। लगानी उठाउन चलचित्रले १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्नुपर्ने अनुमान गरिएको थियो। अहिलेसम्मको कमाइबाट निर्माताको हातमा बढीमा १५ लाख रुपैयाँ मात्र पर्ने अनुमान छ। यसले लगानी लगभग पूरै डुबेको देखाउँछ।

चलचित्रमा हरिवंश आचार्यले मुख्य भूमिका निभाएका छन्। अभिनेत्री इभा गिरी द्रौपदीको भूमिकामा छिन्। प्रदर्शनअघि नै चलचित्र विवादमा तानिएको थियो। एउटा गीतमा इभालाई बोल्ड रूपमा देखाइएपछि सामाजिक सञ्जालमा चलचित्र बहिष्कारको अभियान चलेको थियो। कमजोर व्यापारको मुख्य कारण यही विवाद भएको मानिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu