
काठमाडौं – आगामी शुक्रबार अर्थात् असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’ को प्रचारप्रसारलाई तीव्रता दिइएको छ। यसै क्रममा आइतबार २५० भन्दा बढी साइकल यात्रीहरूले चलचित्रको टि-सर्ट लगाएर कीर्तिपुरदेखि कपनको क्लब मण्डलासम्म र्याली गरेका छन्। निर्देशक विनयराज पौडेलका अनुसार प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ चलचित्रको जानकारी पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। उक्त र्यालीमा अभिनेत्री न्यान्सी खड्का, पुष्कर राउत लगायत निर्माण पक्षको उपस्थिति रहेको थियो।
सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ प्रमाणपत्र पाएको यस चलचित्रको कुल लम्बाइ २ घण्टा १४ मिनेट रहेको छ। छोरीले सुख पाउने आशमा नचिनेको धनी केटासँग विवाह गराइदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र उतारचढावलाई चलचित्रको मूल कथा बनाइएको छ। चलचित्रमा न्यान्सी खड्का र सुशील सिटौलाका साथै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ भने रोनक खड्का र प्रीसा ढुङ्गाना बालकलाकारका रूपमा प्रस्तुत भएका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। निर्माता उग्रसेन आफैंले लेखेको कथामा अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन्।




