
काठमाडौं – आगामी कार्तिक १३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परिवार’ को दशैं विशेष गीत ‘रातो टिका’ सार्वजनिक भएको छ। म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस डान्सिङ गीतमा दशैंमा टिका लगाएपछिको रमाइलो माहोल, लिङ्गे पिङ, चिटिक्क सजिएका घर र सफा गाउँले परिवेशलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
स्वरांकन स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा बाबुल गिरीको शब्द, सङ्गीत, एरेन्ज, मिक्सिङ, मास्टरिङ तथा स्वर रहेको छ भने उनलाई गायनमा बबी लिम्बुले साथ दिएकी छन्। भिडियोमा चलचित्रका मुख्य कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना र विनिता बस्नेतलाई रमाइलो गर्दै नाचेको देख्न सकिन्छ।
‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारा बोकेको यस चलचित्रको निर्देशन मदन थापाले गरेका हुन्। चलचित्रमा भिडियोमा देखिएका कलाकारहरूका अतिरिक्त लुनिभा तुलाधर, बारिश सोना र प्रियान्शु थापा लगायतको पनि अभिनय रहेको छ।
रे अफ आर्ट प्रालिको ब्यानर तथा शाही फिल्म प्रोडक्सन र विशआई फिल्मससँगको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता रमेश शाही, कार्यकारी निर्माता कैलाश रावल र सह-निर्माता आरम्भ रिजाल हुन्। चलचित्रमा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ। यसअघि सार्वजनिक फस्टलुक र टिजरले राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा यो गीतले पनि दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ।




