
काठमाडौं – रसुवाको भोटेकोशी बाढीका कारण प्रदर्शन स्थगित भएको नेपाली चलचित्र ‘बा: एक योद्धा’ आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ। कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को अवसर पारेर निर्माण पक्षले चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि निर्माण टोलीले बाढीपीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्दै चलचित्रलाई मंसिर २४ गते प्रदर्शन गर्ने जानकारी गराएको थियो। वितरक तथा प्रदर्शकसँगको सल्लाहपछि असोज ९ गते नै प्रदर्शन गर्ने निष्कर्षमा पुगिएको निर्माता वसन्त लम्सालले बताएका छन्।
सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, सङ्घर्ष र पारिवारिक चुनौतीलाई यस चलचित्रको मुख्य कथावस्तु बनाइएको छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य अभिनय रहेको छ। सङ्गीत क्षेत्रमा सक्रिय लम्सालको यो पहिलो निर्देशकीय फिचर चलचित्र हो।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने कार्यकारी निर्मातामा अनिल बुढाथोकी रहेका छन्।



