
काठमाडौँ – आज शुक्रबारदेखि नेपालभरका सिनेमा हलमा दुई नयाँ नेपाली चलचित्रहरू एकसाथ प्रदर्शनमा आएका छन्। हलमा रिलिज भएका चलचित्रहरूमा ‘बेहुली’ र ‘पेन्सन पट्टा’ रहेका छन्। फरक-फरक जनरा र फरक कथावस्तु बोकेका यी दुवै चलचित्रले देशव्यापी रूपमा व्यावसायिक प्रदर्शन सुरु गरेका हुन्।
चलचित्र ‘बेहुली’ विशुद्ध पारिवारिक र प्रेमकथामा आधारित चलचित्र हो। यस चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गरेका हुन्। चलचित्रको निर्माण अर्जुन पोखरेल र प्रताप शमशेर राणाले मिलेर गरेका हुन्। यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ।
चलचित्रबारे बोल्दै निर्देशक सशान कँडेलले भने, “हामीले ‘बेहुली’ मार्फत समाजको एउटा निकै संवेदनशील र जीवन्त पाटोलाई छुन खोजेका छौँ। यो केवल प्रेमकथा मात्र होइन, हाम्रो आफ्नै समाजभित्रको पारिवारिक उतारचढाव र युवापुस्ताको मनोभावनाको ऐना हो। हलमा आउने दर्शकले यसमा आफ्नै वरपरको कथा भेटाउनुहुनेछ।”
चलचित्र ‘बेहुली’ मा पारस बम ठकुरी, दिब्य रायमाझी, सुशांत कार्की, सन्तोष बानियाँ, पदम तामाङ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
आजैदेखि प्रदर्शनमा आएको अर्को प्रतीक्षित चलचित्र हो ‘पेन्सन पट्टा’। यो चलचित्रले भारतीय सेनामा कार्यरत एक लाहुरेको परिवारको कथा बोल्छ। चलचित्रको कथावस्तु अनुसार, भारतीय सेनाका एक लाहुरेले लिएको ऋण तिर्नका लागि उनको परिवारले ‘पेन्सन पट्टा’ धितो राखेको हुन्छ। सो ऋण चुक्ता गर्न पेन्सन पट्टा लिएर आउने क्रममा अचानक आमाको नाम अर्कै देखिएपछि उत्पन्न हुने कानुनी र व्यावहारिक अड्चन, त्यसपछि एउटा छोरा र सिङ्गो परिवारले भोग्नुपर्ने मानसिक तथा सामाजिक संघर्षलाई फिल्ममा मुख्य विषय बनाइएको छ।
चलचित्रका निर्देशक माओत्से गुरुङ हुन्। यस चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।
बिदाको दिनमा पारिवारिक मनोरञ्जन लिन चाहने दर्शकका लागि आजदेखि हलमा लागेका यी दुवै रैथाने र मौलिक कथाका चलचित्रहरू उत्कृष्ट विकल्प बन्न सक्छन्।



