आक्रामक व्यापारसहित प्रदर्शनमा आयो चलचित्र ‘बेहुली’, हलमा दर्शकको ओइरो



काठमाडौं – बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ आज (शुक्रबार) बाट देशभरका सिनेमा घरहरूमा सानदार रूपमा प्रदर्शनमा आएको छ। रिलिजको पहिलो दिन बिहानैदेखि चलचित्रले बक्स अफिसमा आक्रामक व्यापारको सुरुवात गरेको छ। ट्रेलर रिलिजसँगै डिजिटल प्लेटफर्ममा सुनामी ल्याएको यस चलचित्रको अग्रिम टिकट बुकिङमा देखिएको उत्साह आज हलहरूमा सुखद र लोभलाग्दो भीडमा परिणत भएको छ। देशभरका मल्टिप्लेक्स तथा सिंगल थिएटरहरूमा दर्शकको उल्लेख्य चाप देखिएको छ।

हलभित्रको माहोल निकै रोमाञ्चक र उत्साहजनक देखिएको छ। चलचित्र हेरिरहँदा दर्शकहरू कथाको बहावसँगै कतै खुलेर हाँसेका छन् भने कतै भावुक बनेका दृश्यहरू देखिएका छन्। दर्शकको यही अपार माया र उत्साहलाई नजिकबाट नियाल्न र प्रत्यक्ष प्रतिक्रिया लिन चलचित्रका सम्पूर्ण कलाकारहरू यतिबेला विभिन्न हलहरूमा पुगिरहेका छन्। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’को उपनामले चिनिएका पारस बम ठकुरी, अभिनेत्री दिव्या रायमाझी, प्रहरीको दमदार अवतारमा देखिएका सुशान्त कार्की, लोकप्रिय कमेडियन पदम तामाङ र सन्तोष बानियालगायतका कलाकारहरू हलमा पुग्दा दर्शकले चर्को हुटिङ गर्दै उनीहरूलाई भव्य साथ दिएका छन्। पर्दाका कलाकारलाई आफ्नै अगाडि देख्दा दर्शकको कौतुहलता र खुसी दोब्बर भएको छ भने दर्शकको न्यानो माया पाएर कलाकारहरू पनि निकै उत्साहित बनेका छन्।

नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाज, आइएनआई सिनेमाज, फ्रेन्ड्स सिनेमा, वन सिनेमा लगायतका देशभरका हलहरूमा चलचित्रले सयभन्दा बढी शो पाएको थियो। बिहानैदेखि हलहरूमा देखिएको दर्शकको यो बाक्लो उपस्थिति र दर्शकबाट प्राप्त उत्कृष्ट ‘वर्ड अफ माउथ’लाई हेर्दै चलचित्रका वितरक गोविन्द शाहीले ‘बेहुली’ले अपेक्षाकृत र सानदार व्यापार गर्ने दृढ विश्वास व्यक्त गरेका छन्। उनले दर्शकको निरन्तर बढ्दो चापका कारण आगामी दिनमा चलचित्रको शो सङ्ख्या अझै वृद्धि हुँदै जाने सङ्केत समेत दिएका छन्।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस चलचित्रले माया, पारिवारिक सम्बन्ध र मित्रताको कलात्मक कथा प्रस्तुत गरेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका चर्चित अनुहारहरूको पनि सशक्त अभिनय रहेको छ। अर्जुन पोखरेल प्रस्तुतकर्ता र प्रताप शमशेर राणा निर्माता रहेको ‘बेहुली’ले पहिलो दिनमै खडा गरेको यो उत्साहजनक माहोलले नेपाली बक्स अफिसमा चलचित्रको जादु लामो समयसम्म चल्ने निश्चित प्रायः देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu