
काठमाडौं। कार्तिक २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाटुलो जून’को शीर्षक गीत सार्वजनिक भएको छ। निर्माण कम्पनी सनराइज पिक्चर्सले शुक्रबार युट्युबमार्फत ‘बाटुलो जून’ बोलको सो गीत रिलिज गरेको हो।
फिल्मको नाम नै बोकेको यो गीतमा मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडासँगै निर्देशक तथा अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त देखिएका छन्। यसअघि सार्वजनिक गरिएका प्रचार सामग्रीमा निर्माण टोलीले भुवनलाई देखाए पनि गरिमालाई भने गोप्य राखेको थियो। लामो समयदेखि विदेशमा रहेकी गरिमाका लागि यो फिल्म पर्दामा फर्कने अवसर बनेको छ।
राम अविरल बिष्टले लेखेको यो गीतमा एसडी योगी र सानु सुनारले स्वर दिएका छन्। गायक योगीले नै संगीत संयोजन पनि सम्हालेका छन्। गीतको शब्द र संगीतअनुरुप कलाकारहरूलाई आकर्षक ढंगले भिडियोमा उतार्ने जिम्मा नृत्य निर्देशक कविराज गहतराजले पूरा गरेका छन्।
जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्ममा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलको पनि अभिनय छ। विवेक थापा फिल्मका सह-निर्माता हुन्।
फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् भने लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन्। पार्श्व संगीत रोमन बज्राचार्यको रहेको छ भने प्रदीप श्रेष्ठले एसोसिएट निर्देशकको जिम्मेवारी निर्वाह गरेका छन्।




