
काठमाडौं – नेपाली चलचित्र ‘लालीबजार’ मा समावेश लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ ले युट्युबमा ५ करोड (५० मिलियन) भ्युज पार गरेको छ। गत मार्च १३ मा षट्कोण आर्ट्सको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले करिब ७ महिनामै यो सफलता चुमेको हो। गीतले ५ करोड भ्युज कटाएपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आफ्नो करिअरमा गीतहरूको भूमिका निकै ठूलो रहेको र चलचित्र नपुगेका ठाउँमा आफूलाई गीतले पुर्याएको बताएकी छन्।
खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर, रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै सङ्गीत रहेको यस गीतको भिडियोमा प्रदीप लामाको कोरियोग्राफी तथा स्वस्तिमा र बालकलाकार समाइरा थापाको आकर्षक नृत्य रहेको छ। हलमा सफलतापूर्वक ५१ दिन मनाएको यम थापा निर्देशित ‘लालीबजार’ दसैँको अवसर पारेर हाल ओटीटी प्लेटफर्म ‘डिगो’मा पनि रिलिज भएको छ।
आमा-छोरीको कथा र शिक्षाको महत्त्वलाई प्रस्तुत गरिएको यस चलचित्रमा स्वस्तिमा, रविन्द्रसिंह बानियाँ र समाइराका साथै मुकुन्दकुमार श्रेष्ठ, अभय बराल लगायतको अभिनय रहेको छ। चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन्।




