चलचित्र ‘जलाकी’को ट्रेलर सार्वजनिक, प्रेम र पर्खाइको कथामा मगर संस्कृतिको छाप



काठमाडौं । ‘खुश्मा’बाट चिनिएका निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को आधिकारिक ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गर्दै फिल्मको कथाको झलक प्रस्तुत गरिएको हो ।

कलेज जीवनमा अंकुराएको प्रेमकथालाई केन्द्रमा राखेर बुनिएको ट्रेलरमा सम्बन्धका उतारचढाव र भावनात्मक द्वन्द्वका दृश्यहरू समेटिएका छन् । फिल्मका मुख्य जोडीका रूपमा उपासना सिंह ठकुरी र सोनम तोप्देन देखिएका छन् । दुवै पात्र एउटै कलेजमा अध्ययनरत छन् र उनीहरूबीच प्रेमको सम्बन्ध गाँसिएको छ ।

तर आर्थिक अभावका कारण सोनमले विदेशिनुपर्ने बाध्यता आइपरेपछि कथाले मोड लिन्छ । प्रेमीको पर्खाइमा बसेकी उपासनाले कस्तो मानसिक पीडा र द्वन्द्व भोग्नुपर्छ भन्ने कुरा नै ट्रेलरको मुख्य विषय बनेको छ । ट्रेलरमा उपासनाको अभिनय सशक्त देखिएको छ ।

आगामी मंसिर ४ गतेदेखि सिनेमाघरमा प्रदर्शन हुने फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन र लुनिभा तुलाधरले अभिनय गरेका छन् । अभिनेता विजय लामा विशेष भूमिकामा देखिनेछन् ।

फिल्मको लेखन तथा सम्पादनको जिम्मेवारी निर्देशक मगर स्वयंले सम्हालेका छन् । ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, बेताने मगर (बबिता राना), सुस्मिता बुढाथोकी र राधा थापा फिल्मका निर्माता हुन् ।

मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई कथाको केन्द्रमा राखेर यो फिल्मले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu