
काठमाडौं । तिहारको छेको पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकले स्वर दिएका छन् ।
सशी शर्मा मजगैयाँको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतले विवाहका लागि आफूलाई उपयुक्त जीवनसाथीको खोजीमा रहेकी युवतीको भावलाई प्रस्तुत गरेको छ । क्यासिनोमा नृत्य गर्ने युवतीको परिवेशमा तयार पारिएको गीतमा उनले आफ्नो जीवनमा असल युवकको चाहना व्यक्त गरेकी छन् ।
गीतको भिडियोमा इभा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ । उनको नृत्यलाई चलचित्रका प्रमुख कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिएका छन् ।
बसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि चलचित्रमा महत्वपूर्ण भूमिका रहेको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । श्रेष्ठले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ रहेकी छन् ।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । उनले चलचित्रलाई ‘सोसल ड्रामा’का रूपमा परिभाषित गरेका छन् । महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने प्रयास चलचित्रमा गरिएको उनको भनाइ छ ।
गीतः




