दुर्गेश थापा र आनन्द कार्की आमने सामने, कार्कीले भने – ‘कलाकारको पारिश्रमिक दया वा उपकार होइन’



काठमाडौं – वरिष्ठ गायक आनन्द कार्कीले गायक दुर्गेश थापासँग जोडिएको पारिश्रमिक विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। दुर्गेशले प्रेस विज्ञप्ति जारी गर्दै आफूले आनन्द कार्कीसँग सहकार्य गरेका गीतको पारिश्रमिक भुक्तानी गरिसकेको दाबी गरेपछि कार्कीले पनि छुटेका घटनाक्रम स्पष्ट पार्दै विज्ञप्ति जारी गरेका हुन्।

प्राइम टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा आनन्द कार्कीले दुर्गेशसँगको सहकार्य र पारिश्रमिकबारे बोलेपछि यो विषय सार्वजनिक चर्चामा आएको थियो। त्यसपछि दुर्गेशले आफ्नो धारणा सार्वजनिक गर्दै ‘दुश्मन हेरेको हेर्‍यैमा’ गीतमा सहकार्य गरेका कार्कीसहित सम्पूर्ण कलाकार तथा प्राविधिकको पारिश्रमिक समयमै भुक्तानी गरिसकेको दाबी गरेका थिए। उनले यससम्बन्धी प्रमाणसमेत प्रेस विज्ञप्तिसँग संलग्न गरेको बताएका थिए।

दुर्गेशले आफ्नो सिर्जना भए पनि अर्को गीत चलचित्रका लागि तयार पारिएको उल्लेख गर्दै त्यसको निर्माण, व्यवस्थापन तथा भुक्तानीको जिम्मेवारी सम्बन्धित चलचित्र पक्षकै रहेको स्पष्ट पारेका थिए। उनले सिर्जनात्मक संलग्नता र चलचित्र परियोजनासँग सम्बन्धित जिम्मेवारीलाई छुट्टाछुट्टै रूपमा बुझ्न आग्रह गर्दै अग्रज कलाकार कार्कीप्रति आफ्नो सम्मान यथावत् रहेको बताएका थिए।

तर, कार्कीले आफ्नो विज्ञप्तिमा दुर्गेशसँगको सहकार्यका क्रममा पारिश्रमिक प्राप्त गर्न लामो समय कुर्नुपरेको उल्लेख गरेका छन्। आफ्नै भाइजस्तो आत्मीयता र विश्वासका कारण सुरुमा धैर्य गरेको बताउँदै उनले पटक–पटक फोन, एसएमएस तथा मेसेन्जरमार्फत सम्पर्क गर्दा पनि समयमै समस्या समाधान हुन नसकेको जनाएका छन्।

‘पारिश्रमिक अन्ततः प्राप्त भए पनि त्यसका लागि करिब एक वर्ष कुर्नुपरेको यथार्थ महत्त्वपूर्ण छ,’ कार्कीले भनेका छन्, ‘कलाकारले आफ्नो श्रमको मूल्य पाउन यति लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थालाई सामान्य व्यावसायिक अभ्यासका रूपमा लिन सकिँदैन।’

उनले आफ्नो असन्तुष्टि रकममा मात्र सीमित नरहेको पनि स्पष्ट पारेका छन्। भुक्तानीमा भएको ढिलाइ, संवादको अभाव र व्यावसायिक जिम्मेवारीप्रतिको अपेक्षा आफ्नो असन्तुष्टिको मुख्य विषय भएको उनको भनाइ छ।

‘रङ्गी’को पारिश्रमिकबारे शोभित बस्नेतसँग कुराकानी

कार्कीले आफ्नो विज्ञप्तिमा चलचित्र ‘रङ्गी’का लागि दिएको स्वरको पारिश्रमिकबारे चलचित्र निर्माता तथा निर्देशक शोभित बस्नेतसँग भएको कुराकानीलाई समेत उल्लेख गरेका छन्।

उनका अनुसार शोभित बस्नेतले फोन गरेर चलचित्रका लागि डेढ लाख रुपैयाँको प्याकेजमा जिम्मेवारी दिइएको र कार्कीको पारिश्रमिक भुक्तानी नभएको विषय आफूले पछि मात्र थाहा पाएको बताएका थिए। शोभितले पारिश्रमिक भुक्तानीका लागि पहल गर्दै क्यूआर पठाउन भनेपछि आफूले क्यूआर पठाइसकेको कार्कीले जानकारी दिएका छन्।

‘शोभितजीको यो पहललाई म सकारात्मक रूपमा लिन्छु,’ उनले भनेका छन्, ‘तर यस घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—काम सम्पन्न भइसकेपछि कलाकारको पारिश्रमिक भुक्तानीको जिम्मेवारी कसले लिने र त्यसको सुनिश्चितता कसरी गर्ने?’

व्यावसायिक सहकार्यमा जिम्मेवारी र समन्वय स्पष्ट नहुँदा कलाकारले अनावश्यक दुःख र अन्योल भोग्नुपर्ने अवस्था आउन नहुने उनको धारणा छ।

दुर्गेशले आफ्नो विज्ञप्तिमा ‘रङ्गी’को प्रसंगसँग सम्बन्धित गीत चलचित्र परियोजनाका लागि तयार पारिएको र त्यसको भुक्तानीको जिम्मेवारी चलचित्र पक्षकै रहेको बताएका थिए। यसै विषयमा कार्कीले भने आफूले भोगेको भुक्तानीमा ढिलाइ र त्यस क्रममा उत्पन्न भएको अन्योललाई सार्वजनिक गर्दै जिम्मेवारी स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्।

‘मेरो आवाज कुनै व्यक्तिविरुद्ध होइन’

नेपाली संगीत क्षेत्रमा चार दशकभन्दा बढी समय बिताएको र हजारौँ गीत गाउने अवसर पाएको उल्लेख गर्दै कार्कीले आफूले श्रोताहरूबाट अपार माया प्राप्त गरेको बताएका छन्। नयाँ पुस्ताका कलाकारलाई पनि सकेसम्म माया, साथ र सहयोग गर्दै आएको उनको भनाइ छ।

‘त्यसैले मेरो आवाज कुनै व्यक्तिविरुद्ध होइन; कलाकारको श्रम र अधिकारको पक्षमा हो,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

दुर्गेशप्रति आफ्नो माया, शुभकामना र आशीर्वाद यथावत् रहेको बताउँदै कार्कीले उनलाई नेपाली संगीत क्षेत्रमा अझ सफल हुन शुभकामना दिएका छन्। तर, सफलतासँगै अरूको श्रमप्रतिको सम्मान, वचनप्रतिको प्रतिबद्धता र व्यावसायिक जिम्मेवारी पनि बलियो हुनुपर्ने उनको अपेक्षा छ।

‘कलाकारको पारिश्रमिक दया वा उपकार होइन, उसको श्रमको न्यायोचित मूल्य हो। आत्मीयता जिम्मेवारीबाट उन्मुक्ति होइन; बरु विश्वासलाई अझ मजबुत बनाउने आधार हो,’ कार्कीले भनेका छन्।

उनले आफ्नो वक्तव्य व्यक्तिगत वैमनस्यका लागि नभई आफूले भोगेको यथार्थ स्पष्ट पार्न र नेपाली संगीत तथा चलचित्र क्षेत्रमा पारदर्शिता, समयमै पारिश्रमिक भुक्तानी र पारस्परिक सम्मानको संस्कार विकास होस् भन्ने उद्देश्यले सार्वजनिक गरेको बताएका छन्।

यसअघि दुर्गेशले पनि आफ्नो विज्ञप्तिमा कलाकारको मेहनत, योगदान, सम्मान र पारिश्रमिकलाई महत्त्व दिने गरेको उल्लेख गर्दै आनन्द कार्कीसँगको सांगीतिक सम्बन्धलाई कुनै फरक बुझाइका कारण कमजोर बनाउन नहुने बताएका थिए।

दुवै कलाकारले एकअर्काप्रति सम्मान व्यक्त गरे पनि उनीहरूको विज्ञप्तिमा पारिश्रमिक भुक्तानीको समय र जिम्मेवारीबारे फरक–फरक पक्ष उजागर भएका छन्। यस घटनाले नेपाली संगीत तथा चलचित्र क्षेत्रमा कलाकारको पारिश्रमिक समयमै भुक्तानी गर्ने र परियोजनासँग सम्बन्धित जिम्मेवारी स्पष्ट बनाउने विषयलाई पुनः चर्चामा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu