३६ वर्षका भए कार्तिक आर्यन: १२ जनासँग फ्ल्याट साझा गर्ने संघर्षदेखि १० दिनको सुटिङमा २० करोडसम्म



कार्तिक आर्यन

काठमाडौं । डाक्टर वा इन्जिनियर बनोस् भन्ने आमाबुबाको चाहना, तर सपना भने फिल्ममा काम गर्ने। ग्वालियरका एक किशोर इन्जिनियरिङ पढ्ने बहानामा मुम्बई पुगे। न चिनजान थियो, न काम दिलाइदिने कुनै गडफादर। आज ती नै कार्तिक आर्यन ३६ वर्षका भए। उनको जन्म १९९० नोभेम्बर २२ मा ग्वालियरमा भएको थियो।

उनका बुबा मनीष तिवारी र आमा माला तिवारी दुवै डाक्टर हुन्। कान्छी बहिनी कृतिका पनि छिन्। परिवारमा पढाइलाई ठूलो महत्व दिइन्थ्यो। तर कार्तिकले नवौँ कक्षामै अभिनेता बन्ने सपना देख्न थालेका थिए। फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो परिवार आर्थिक रूपमा त्यति बलियो नभएको बताएका थिए। क्लिनिक सुरु गर्न आमाबुबाले ऋण लिइरहेका बेला आफ्नो सपनाबारे खुलेर नभनेको उनको भनाइ थियो।

सन् २००८ मा १८ वर्षको उमेरमा उनी मुम्बई आए र डी वाई पाटिल कलेजमा बायोटेक्नोलोजी इन्जिनियरिङमा भर्ना भए। उद्देश्य भने पढाइसँगै अडिसन दिने थियो। सुरुमा नवी मुम्बईको नेरुलमा छ जनासँग बस्थे। पछि आर्थिक अभावका कारण १२ जना केटासँग एउटै फ्ल्याट साझा गर्नुपर्‍यो। रमाइलो कुरा, साथीहरूलाई उनले आफू कोकिलाबेन अस्पतालमा बायोटेक्नोलोजीको इन्टर्नसिप गर्दै छु भनेका थिए। कार्तिक अभिनेता बन्न खोजिरहेका छन् भन्ने कुरा सुरुमा उनीसँग बस्नेहरूलाई पनि थाहा थिएन।

फिल्म उद्योगमा पाइला टेक्न उनका लागि सजिलो थिएन। कुनै ठूलो प्रोडक्सन हाउसको नम्बर थिएन। उनी फेसबुकमा कास्टिङ र अडिसनसम्बन्धी पोस्ट खोज्थे। त्यसैबीच ‘प्यार का पंचनामा’ को अडिसनको जानकारी पाए। व्यावसायिक पोर्टफोलियो बनाउने पैसा नहुँदा समूह तस्बिरबाट आफ्नो अनुहार काटेर कास्टिङ एजेन्टहरूलाई पठाउने गर्थे। कहिलेकाहीँ त अडिसन दिने मौका नै पाउँदैनथे। पात्रसँग मिल्दैनौ भनेर फर्काइन्थ्यो। हप्ताको धेरै पटक अडिसन दिन जाँदा आउजाउमै करिब छ घण्टा लाग्थ्यो।

सन् २०११ मा लव रञ्जनको ‘प्यार का पंचनामा’ मा उनले काम पाए। फिल्ममा दिव्येन्दु शर्मा, नुसरत भरुचा र सोनाली सहगल पनि थिए। उनले रजतको भूमिका निभाएका थिए, जसको करिब पाँच मिनेटको मोनोलोग निकै चर्चामा आयो। सुरुको अडिसनमा अस्वीकृत भएपछि पनि उनका तस्बिर फेरि मागिए र दोहोर्‍याएर बोलाइयो। करिब छ महिनाको प्रक्रियापछि मात्र उनले ‘रज्जू’ को भूमिका पाए।

यही बेला उनको सपना भाँडिन लागेको क्षण पनि आयो। अडिसनमा छानिएपछि घर फर्कंदै गर्दा उनी चढेको अटो रिक्सा दुर्घटनामा पर्‍यो र खुट्टा भाँचियो। सुटिङअघि नै चोट लागेकाले फिल्मबाट झिकिने डर थियो। उनले प्रोडक्सन टोलीसँग सुटिङ केही दिन सार्न आग्रह गरे र टोलीले मानिदियो।

पहिलो फिल्मबापत उनले ७० हजार भारतीय रुपैयाँ पाएका थिए। जुन २०२४ मा राज शमानीको पोडकास्टमा उनले कर कटेपछि हातमा ६३ हजार मात्र परेको बताएका थिए। पहिलो विज्ञापनबापत भने १ हजार ५०० रुपैयाँ मात्र पाएको खुलासा गरे। ‘सोनू के टीटू की स्वीटी’ का लागि पनि एक करोड नपाएको र वास्तविक कमाइ त्यसपछि सुरु भएको उनको भनाइ थियो।

‘प्यार का पंचनामा’ पछि उनले ‘आकाशवाणी’ मा काम गरे र सन् २०१५ मा ‘प्यार का पंचनामा २’ आयो। पहिचान बन्दै गए पनि आर्थिक अवस्थामा तत्काल ठूलो परिवर्तन आएन। तेस्रो फिल्म ‘कान्छी: द अनब्रेकेबल’ रिलिज हुँदासम्म उनी त्यही फ्ल्याटमा १२ जनासँग बसिरहे।

सन् २०१८ उनको करिअरमा निर्णायक वर्ष बन्यो। लव रञ्जनकै निर्देशनमा बनेको ‘सोनू के टीटू की स्वीटी’ मा नुसरत भरुचा र सनी सिंह पनि थिए। फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्‍यो र त्यसपछि उनले ठूला परियोजना पाउन थाले। पछि ‘लुका छुपी’, ‘पति पत्नी और वो’ र ‘धमाका’ जस्ता फिल्ममा फरक–फरक भूमिका निभाए। सन् २०२२ मा ‘भूल भुलैया २’ आयो, जसमा कियारा आडवाणी र तब्बू थिए। करिब ६५ करोड रुपैयाँको बजेटमा बनेको यो फिल्मले विश्वभर २६० करोडभन्दा बढी कमाएको बताइएको छ।

सन् २०२१ मा नेटफ्लिक्समा आएको राम माधवानीको ‘धमाका’ मा उनले पत्रकार अर्जुन पाठकको भूमिका निभाए। फिल्मको सुटिङ १० दिनमै सकिएको थियो। जनवरी २०२१ मा मनीकन्ट्रोलले व्यापार स्रोतको हवालामा उनले यसबापत २० करोड रुपैयाँ पाएको दाबी गरेको थियो। जनवरी २०२३ मा ‘आप की अदालत’ कार्यक्रममा सोधिँदा कार्तिकले त्यो फिल्म ‘धमाका’ नै भएको र त्यति नै रकम पाएको स्वीकारे। निर्माताहरूलाई उनीहरूको लागतभन्दा बढी कमाइ गराउन आफू प्रयास गर्ने भन्दै उनले आफ्नो पारिश्रमिकको बचाव गरेका थिए।

उनको कथा पैसा र विलासितामा मात्र सीमित छैन। ‘चन्दु च्याम्पियन’ मा उनले प्यारालिम्पिक स्वर्ण पदक विजेता मुरलीकान्त पेटकरको भूमिका निभाए। कबीर खानको निर्देशनमा बनेको यो फिल्मका लागि उनले शारीरिक तन्दुरुस्तीमा निकै मेहनत गरे र उनको रूपान्तरण पनि चर्चामा रह्यो। यही अभिनयका लागि ७२औं राष्ट्रिय फिल्म पुरस्कारमा उनले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाए, जुन उनले ममुट्टीसँग साझा गरे।

संघर्षका दिनमा उनी धेरै पटक हात बदलिसकेको पुरानो कारमा हिँड्थे। अहिले उनीसँग मिनी कुपर र लम्बोर्गिनीलगायत धेरै गाडी छन्। दैनिक भास्करलाई दिएको पुरानो अन्तर्वार्तामा उनले त्यो कारबारे भनेका थिए, ‘त्यस्तो कार थियो, जसलाई कसैले सित्तैमा पनि नलिने। अरू विकल्प थिएन, काम चलाउन किनेको थिएँ।’

कार्तिक शाहरुख खानका ठूला प्रशंसक हुन्। सन् २००८ मा पहिलोपटक मुम्बई पुग्दा आफ्ना मनपर्ने अभिनेताको एक झलक पाउन उनी बान्द्राको ‘मन्नत’ बाहिर पुगेका थिए। त्यतिबेला १८ वर्षका उनलाई शाहरुख बालकनीमा आउलान् र देख्न पाइएला भन्ने आशा थियो। आज उनी आफैँ त्यही उद्योगको हिस्सा छन्। पछि ‘भूल भुलैया २’ हेरेपछि शाहरुखले उनलाई भेटेर फिल्मको प्रशंसा गरेका थिए।

स्रोत: दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu