
काठमाडौं – चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ले प्रतिकूल मौसमका बाबजुद पनि बक्सअफिसमा उत्कृष्ट सुरुवात गरेको छ। शनिबार दिनभरको वर्षा र बाढीको अवरोध हुँदाहुँदै पनि काठमाडौंका अधिकांश शोहरूमा दर्शकको चाप उच्च देखिएको थियो, जसमध्ये दर्जनभन्दा बढी शो त हाउसफूल नै भएका थिए। शुक्रबारदेखि प्रदर्शनमा आएको यस चलचित्रले दर्शक तथा चलचित्रका जानकारहरूबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। सामाजिक सञ्जालमा समेत चलचित्रको उच्च प्रशंसा भइरहेको र राम्रो ‘वर्ड अफ माउथ’ले गर्दा आगामी दिनमा हलमा दर्शक अझै थपिनेमा निर्देशक अविनाश विक्रम शाह विश्वस्त छन।।
यस चलचित्रले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको मार्मिक कथा प्रस्तुत गरेको छ। कान्स लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पुगेर अवार्डसमेत जितिसकेको यस चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव लगायतका कलाकारहरूको अभिनय रहेको छ।
अविनाश विक्रम शाहको निर्देशन र पटकथा रहेको यस चलचित्रको निर्माण नेपालका साथै फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाहरूको ठूलो सहकार्यमा भएको हो। यसका नेपाली निर्माता अनुप पौडेल हुन्।




