
काठमाडौं – आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को निर्माण टोलीले काठमाडौंस्थित भारतीय राजदूतावासको मिलिटरी पेन्सन शाखाको भ्रमण गरेको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै उक्त शाखाले निर्माण टोलीलाई भेटघाटका लागि आमन्त्रण गरेको थियो। हालै देशमा आएको बाढीपहिरोका कारण प्रचारप्रसारका कार्यक्रम रोकिएकाले यो भेटघाट केही ढिला हुन पुगेको निर्माण पक्षले जनाएको छ।
भेटघाटका क्रममा निर्माण टोलीले शाखाका कर्मचारीहरूसँग अन्तरक्रिया गरेको थियो। यस शाखाले नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गर्ने तथा पेन्सन पट्टामा भएका त्रुटि सच्याउने काम गर्दै आएको छ। चलचित्रको मूल कथा पनि यही विषयवस्तुसँग जोडिएकाले निर्माण टोली वास्तविक पेन्सन पट्टा जारी हुने कार्यालयमा पुगेको हो।
निर्देशक तथा अभिनेता माओत्से गुरुङले भेटका क्रममा शाखाका मेजर राहुल झा लगायतका कर्मचारीहरूसँगको अन्तरक्रिया फलदायी रहेको बताएका छन्। उक्त भेटमा नेपालमा भारतीय सेना तथा असैनिक सेवाका गरी जम्मा १ लाख १९ हजार ५ सय ४ जना पेन्सनभोगी रहेका र भारत सरकारले उनीहरूलाई वार्षिक करिब ७ हजार १ सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको तथ्याङ्क प्राप्त भएको गुरुङले जानकारी दिए। चलचित्रको कथासँग सम्बन्धित अन्य विस्तृत जानकारी भने उनले खुलाएनन्।
पेन्सन पट्टाको अधिकार र त्यसले परिवारमा ल्याउने उतारचढावको विषयलाई प्रस्तुत गरेको यो चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।




