
काठमाडौं – आगामी कात्तिक २० गते (तिहार) देखि प्रदर्शनमा आउन लागेको मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। पहिलो पोस्टरमार्फत चलचित्रका ‘पाँच पाण्डव’ चिनाएको निर्माण पक्षले यस दोस्रो पोस्टरमार्फत अभिनेत्री इभा गिरीलाई ‘द्रौपदी’ को अवतारमा सार्वजनिक गरेको छ।
रातो सोल्जर कट ब्लाउज, रातो सारी र हल्का गहना पहिरिएकी इभाको लुक्सले महाभारतकी द्रोपदीको झल्को दिँदै दर्शकको ध्यान तानेको छ। पोस्टरको पृष्ठभूमिमा भने अघिल्लो पोस्टरमा देखिएका पाँच पाण्डवलाई राखेर मुख्य पात्रहरूलाई पुनः स्मरण गराउने प्रयास गरिएको छ। चलचित्रका निर्देशक वसन्त निरौलाले युवा पुस्तामाझ लोकप्रिय इभाको यो द्रोपदी रूप दर्शकले निकै रुचाउने विश्वास व्यक्त गरेका छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा हरिवंश आचार्य (युधिष्ठिर), जितु नेपाल (भीम), आर्यन सिग्देल (अर्जुन), महेश त्रिपाठी (नकुल) र सुशील सिटौला (सहदेव) मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा छन्। उनीहरूका साथै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार लगायतका दिग्गज तथा नयाँ पुस्ताका कलाकारहरूको अभिनय रहेको छ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता र काली रानी श्रेष्ठ निर्माता रहेको यस चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलका अनुसार यो एक ‘सोसल ड्रामा’ हो, जसमा महाभारतका पात्रहरूको विम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ।



