
काठमाडौं – अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा मुख्य अभिनय रहेको एक्सन चलचित्र ‘आचार्य’ को ट्रेलर शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रको करिब साढे तीन मिनेट लामो ट्रेलरमा परिष्कृत एक्सन कोरियोग्राफी, तीव्र द्वन्द्व र निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। नेपाली सिनेमामा कम हुँदै गएको ‘मास इन्टरटेनर’ शैलीलाई पुनः मूलधारमा फर्काउने लक्ष्य यस चलचित्रले राखेको छ।
कार्यक्रममा बोल्दै निखिलले नेपाली बजेट, कथावस्तु र श्रमशक्तिको प्रयोगबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक चलचित्र बनाउन सकिने उदाहरण प्रस्तुत गर्न खोजिएको बताए। उनले “नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ” भन्दै चलचित्रमा एक्सन र कन्टेन्ट दुवैमा नयाँपन दिने प्रयास गरिएको दाबी गरे।
यस चलचित्रमा निखिलका साथै दक्षिण भारतीय कलाकारद्वय रघु बाबू र रघु करुमन्ची तथा बलिउड कलाकारहरू दीपजङ्ग राणा र रोहित चौधरीको अभिनय रहेको छ। यसै चलचित्रमार्फत पूर्णिका सिजापती र सजिना श्रेष्ठले नव-नायिकाको रूपमा डेब्यु गर्दैछन्। उनीहरूका साथै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ।
प्राविधिक पक्षतर्फ सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन, शुक्रराज शाहको एक्सन निर्देशन, र बन्दे प्रसादको सम्पादन रहेको छ। चलचित्रको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्। यस चलचित्रलाई नेपालभित्र मनोज राठीले र नेपालबाहिर सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछन् भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।
ट्रेलरः



