
काठमाडौं – नेपाल, भुटान र भारतको संयुक्त सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। आगामी असोज २३ गते (अक्टोबर ९) देखि नेपाल र भुटानका हलहरूमा एकसाथ प्रदर्शनमा आउन लागेको यस चलचित्रको पोस्टरले रहस्यमय सुरुङ र ‘पहाडमुनिको श्राप’ लाई मुख्य विषयका रूपमा प्रस्तुत गरेको छ।
डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको यस चलचित्रमा भुटानी अभिनेता संगय छेल्ट्रिम, नेपाली कलाकार अनुपविक्रम शाही र अन्ना शर्माका साथै निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादाको मुख्य भूमिका रहेको छ। संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का (क्रिएटिभ प्रोड्युसर), प्रशान्त कुमार गुप्ता, संगय छेल्ट्रिम लगायतको लगानी रहेको छ भने दोर्जी वाङ्चुक कार्यकारी निर्माता हुन्। निर्माण पक्षका अनुसार सेप्टेम्बर २२ मा काठमाडौंमा भुटानी टोलीसहितको विशेष कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिनेछ।
प्राविधिक पक्षतर्फ दीर्घ गुरुङ र संगय टी. तेन्जिङको छायांकन तथा राजु तामाङको एक्सन निर्देशन रहेको छ। चलचित्रको पार्श्व सङ्गीत तथा ध्वनिको काम थाइल्यान्डमा गरिएको छ, जसमा चर्चित सङ्गीतकार तेर्डसाक जानपानले पार्श्व सङ्गीत तयार पारेका छन्। नेपाल र भुटानमा प्रदर्शन गरेपश्चात यस चलचित्रलाई एसिया, उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।



