
काठमाडौं – प्राय: नेपाली चलचित्रको प्रिमियर काठमाडौंमा हुने परम्परालाई तोड्दै चलचित्र ‘बा: एक योद्धा’ ले मोफसलका दर्शकमाझ सुरुवाती प्रिमियर सम्पन्न गरेको छ। नेपालगञ्ज, दाङ, धरान र बुटवलमा सम्पन्न प्रिमियरबाट दर्शकको उत्साहजनक र भावुक प्रतिक्रिया पाएपछि निर्माण पक्षले आगामी असोज ६ गते काठमाडौंमा प्रिमियर गर्ने तयारी गरेको छ।
सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, सङ्घर्ष र पारिवारिक सन्देशलाई प्रस्तुत गरेको यस चलचित्रलाई मोफसलका दर्शकले निकै रुचाएका छन्। प्रिमियरमा सहभागी दर्शकहरूले बुवाको सङ्घर्ष र बाबु-छोरीको मर्मस्पर्शी सम्बन्धको खुलेर प्रशंसा गरेका थिए। साथै, दर्शकहरूले अभिनेता दिव्यदेवको भूमिकालाई उनको करियरकै ‘टर्निङ पोइन्ट’ र अभिनेत्री सुहाना थापाको अभिनयलाई अहिलेसम्मकै फरक र उत्कृष्ट भनेर तारिफ गरेका छन्।
आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य अभिनय रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हरि लम्सालले लेखन तथा निर्देशन गरेका हुन्। वसन्त लम्साल निर्माता र अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन रहेको छ। यस चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।



