काठमाडौं – रे अफ आर्ट प्रा.लि., शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्को सहकार्यमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘परिवार’ आगामी कात्तिक १३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। ‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने रोचक थिममा निर्माण भएको यस चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य अभिनेता कामेश्वर चौरासियालाई महिलाको अवतारमा र अभिनेत्री लक्ष्मी बर्देवालाइ पुरुषको भूमिकामा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु निकै रोचक रहेको संकेत गर्छ।

मदन थापाको निर्देशन रहेको यस चलचित्रमा कामेश्वर र लक्ष्मीका साथै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको लेखन प्रेम थापा र गणेश उपाध्यायले संयुक्त रूपमा गरेका हुन्।
रमेश शाही निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता कैलाश रावल र सह-निर्माता आरम्भ रिजाल हुन्। प्राविधिक पक्षतर्फ निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको द्वन्द्व निर्देशन (एक्सन) रहेको छ।



