चलचित्र ‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक, निर्माताले पाउने हिस्साको ५ प्रतिशत बाढी प्रभावितलाई दिइने



काठमाडौं – यही भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। हलमा रिलिज हुन मात्र पाँच दिन बाँकी रहँदा निर्माण टिमले आइतबार काठमाडौंको जय नेपाल हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको आधिकारिक ट्रेलर दर्शकमाझ ल्याएको हो।

भोटेकोसी क्षेत्रमा आएको अनपेक्षित र विनाशकारी बाढीका कारण देशले बेहोर्नु परेको सङ्कट र पीडालाई मध्यनजर गर्दै निर्माण पक्षले यसअघि चलचित्रका सम्पूर्ण प्रचारप्रसारका कार्यक्रमहरू स्थगित गरेको थियो। देशको असहज परिस्थितिलाई आत्मसात् गर्दै रोकिएको प्रचारप्रसारलाई स्थिति केही सहज भएसँगै ट्रेलर सार्वजनिक गरेर पुनः सुरु गरिएको हो।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा प्रस्तुत कर्ता अर्जुन पोखरेलले एक परोपकारी घोषणा गरेका छन्। चलचित्रले बक्स अफिसमा गर्ने कुल कमाइबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसी क्षेत्रका बाढी प्रभावितहरूका लागि प्रदान गरिने उनले बताए। सङ्कटको घडीमा चलचित्र उद्योगको तर्फबाट लिइएको यो निर्णयलाई उपस्थित सञ्चारकर्मी र चलचित्रकर्मीहरूले अत्यन्तै सान्दर्भिक र प्रशंसनीय कार्य भन्दै स्वागत गरेका छन्।

सार्वजनिक गरिएको ट्रेलरमा माया, प्रेम, पारिवारिक सम्बन्ध, र मित्रताका विविध आयामहरूलाई सुन्दर ढङ्गमा समेटिएको छ। विशेष गरी ‘कुल ब्वाई’को नामले सामाजिक सञ्जालमा समेत परिचित कलाकार पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबिचको प्रेमको केमेस्ट्रीलाई ट्रेलरमा आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

त्यस्तै, अभिनेता सुशान्त कार्कीलाई प्रहरीको एक सशक्त भूमिकामा देख्न सकिन्छ। लोकप्रिय कमेडियन पदम तामाङको कमेडी र कलाकार सन्तोष बानियाको विल्कुलै फरक एवं प्रभावशाली अभिनयले ट्रेलरलाई अझ रोचक बनाएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक ट्रेलर निकै सशक्त, कौतुहलतापूर्ण र व्यावसायिक रूपमा बलियो बनेको प्रारम्भिक प्रतिक्रिया प्राप्त भएको छ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषको साथमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुत कर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

यसमा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu