
काठमाडौं – आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जदौ’ मा समावेश ‘तिमीसँग नबोली’ बोलको गीत आइतबार सार्वजनिक गरिएको छ। यस गीतको भिडियोमा चलचित्रका कलाकार नीति शाह र प्रभात पाल ठकुरीलाई प्रस्तुत गरिएको छ।
गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको यस गीतमा किरण गजमेर र मनिषा सुनारले स्वर दिएका छन्। भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। यसअघि निर्माण पक्षले चलचित्रको शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक गरिसकेको छ।
अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई मुख्य कथावस्तु बनाइएको यस चलचित्रको निर्देशन अन्जन शर्मा र काजी लिम्बूले संयुक्त रूपमा गरेका हुन्। चलचित्रको स्क्रिप्ट निर्देशक लिम्बू स्वयंले लेखेका हुन्। चलचित्रमा नीति र प्रभातका साथै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ।
समीश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट र सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता सृजना शर्मा र मनिष शर्मा हुन् भने शान्ति पुडासैनी कार्यकारी निर्माता रहेकी छन्। त्यसैगरी, राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल सह-निर्माताका रूपमा रहेका छन्।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको चलचित्रमा बिमला भण्डारी प्रोडक्सन हेड रहेकी छन्। यस चलचित्रलाई एनजिसिएन ग्रुपले देशभर वितरण गर्ने निर्माण पक्षले जनाएको छ।




