
काठमाडौं – आगामी भदौ २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।
प्रेम र पारिवारिक सम्बन्धको भावनालाई समेटिएको यस गीतमा सुरज तामुको शब्द तथा सङ्गीत रहेको छ भने तामु र शान्ति श्री परियारले स्वर दिएका छन्। मनोज थापा मगरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राई फिचर्ड छन्।
लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, त्याग र सामाजिक संरचनालाई चलचित्रले मुख्य विषयवस्तु बनाएको छ। दिवंगत बाबुको पेन्सन पट्टामा आमाको नभई बाबुकी पहिलो पत्नीको नाम रहेपछि जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत चलचित्रको कथा अगाडि बढ्छ। निर्देशक माओत्से गुरुङका अनुसार, करिब १२ देखि १५ वर्षको सोचपछि निर्माण भएको यस चलचित्रले पेन्सन प्राप्तिका क्रममा आउने जटिलताका साथै मानवीय सम्बन्ध र भावनात्मक पक्षलाई प्राथमिकता दिएको छ।
यसैबीच, चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र प्राप्त गरेको छ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राई लगायतका कलाकारको अभिनय रहेको छ। सुरज तामु र केर डी कोइन्च लिनुचको सह-लेखन रहेको यस चलचित्रका निर्माता मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ हुन्।
प्राविधिक पक्षतर्फ सुशन प्रजापतिको छायांकन, निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचको सम्पादन तथा सुरज तामुको कास्टिङ निर्देशन रहेको छ। चलचित्रको सङ्गीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका हुन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, राजेन्द्र मोक्तान कलरिस्ट र राजु याकचा कला निर्देशक रहेका छन्। यस चलचित्रलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन्।
गीतः




