
काठमाडौं – अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘जुबा’ को छायांकन ९० दिनमा सम्पन्न भएको छ। सौगात मल्लको मुख्य भूमिका रहेको यस चलचित्रको छायांकन नेपालको सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरका साथै भारतको राजस्थानका विभिन्न स्थानमा गरिएको निर्माण पक्षले जनाएको छ।
प्रकाश कर्णको कथा तथा निर्देशन रहेको यस चलचित्रमा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेलको मुख्य भूमिका रहेको छ। यसै चलचित्रमार्फत सोफीले अभिनयमा डेब्यु गर्दैछिन् भने सुधन पहिलोपटक मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्। यसअघि सार्वजनिक गरिएका क्यारेक्टर पोस्टरहरूमा देखाइएको पीसीओ, सिगारसहितको सुधनको खलपात्र लुक्स र कलाकारको पहिरनले चलचित्रको कथा करिब दुई दशकअघिको समय परिवेशमा आधारित रहेको झल्को दिएको छ।
चलचित्रकी निर्मात्री सजना थापा हुन् भने सह-निर्माताको रूपमा शेखर पाण्डे रहेका छन्। त्यसैगरी, चलचित्रको लेखन वर्षा पौडेलले गरेकी हुन्। गुणस्तरलाई प्राथमिकता दिँदै दृश्यको आवश्यकता अनुसार लामो समय लगाएर छायांकन सकिएको यस चलचित्रको पोस्ट-प्रोडक्सनको काम सुरु भएको छ। निर्माण पक्षका अनुसार, पोस्ट-प्रोडक्सनको प्रगतिसँगै चलचित्रको प्रदर्शन मिति छिट्टै तय गरी सार्वजनिक गरिनेछ।



