
काठमाडौं । हास्य अभिनेता जितु नेपाल कात्तिक २० गतेदेखि प्रदर्शन हुने चलचित्र ‘पाँच पाण्डव’मा भीमसेनको भूमिकामा देखिँदैछन् । चलचित्रको ट्रेलरमा अभिनेता हरिवंश आचार्यले भीम भनेर बोलाउँदा जितुले ‘म त भीमसेन हो’ भनेको दृश्य राखिएको छ ।
भीम भन्नासाथ महाभारतका पाँच पाण्डवमध्ये सबैभन्दा बलशाली पात्रको सम्झना आउँछ । त्यसैले ट्रेलरमा जितुलाई भीमका रूपमा देखेपछि दर्शकमाझ चर्चा पनि चलेको छ । तर, चलचित्र ठ्याक्कै महाभारतका पाँच पाण्डवको कथा नभएको जितु बताउँछन् ।
‘भीम भन्नासाथ सबैले ठूलो चरित्र बुझ्छन्, तर फिल्ममा मेरो चरित्र पनि रमाइलो छ । यो ठ्याक्कै पाँच पाण्डवकै कथा होइन,’ उनी भन्छन्, ‘स्वर्गमा रहेका युधिष्ठिर भाइहरू नहुँदा सुखी हुनुहुन्न । ५१ सय वर्षपछि भाइहरू कुनै न कुनै रूपमा जन्मिए होलान् भनेर चिन्तित हुँदा भगवानले उनीहरू नेपाल नगरीमा छन् भन्नुहुन्छ । त्यसपछि उहाँ खोज्दै आएर हामीलाई ‘तँ भीम होस्’, ‘तँ अर्जुन होस्’, ‘तँ मेरो नकुल होस्’ भनेर चिनाउनुहुन्छ ।’
आफूले भीम भएको दाबी नगरेको उनको भनाइ छ । ‘कसैले त्यो चरित्र सम्झन त पायो । कसैले भीम सानो भयो पनि भने, तर भीम सानो हुनै नपाउने भन्ने त होइन नि,’ जितु भन्छन् ।
चलचित्रमा आफू इँटाभट्टाको मजदुरको भूमिकामा रहेकाले भीमका लागि भनेर धेरै तयारी नगरेको उनले बताए । ‘हामी पाण्डवको एउटा अंश मात्र हौं । निर्देशकको निर्देशन र कथाले जे माग्यो, त्यही अनुसार काम गरेको हुँ,’ उनी भन्छन् ।

महाभारत र पाण्डवजस्ता पात्रमा आधारित कथामा जोडिन पाउँदा खुसी लागेको जितु बताउँछन् । चलचित्रमा उनी र अभिनेत्री दीपाश्री निरौला श्रीमान्–श्रीमतीको भूमिकामा छन् । ‘यसअघि विज्ञापनमा दीपा दिदीसँग काम गरेको थिएँ, तर भीमकी श्रीमतीका रूपमा उहाँसँग काम गर्नु नौलो अनुभव भयो,’ उनले भने ।
हरिवंश आचार्यसँग पहिलोपटक पर्दा साटेको अनुभव पनि उनका लागि फरक रह्यो । ‘पाँच पाण्डवसँगै अरू धेरै कलाकार भएको ठूलो क्यानभासको फिल्ममा आफूलाई कसरी प्रस्तुत गर्ने र दर्शकले जितुलाई कुन रूपमा सम्झिएलान् भन्ने चुनौती थियो,’ उनी भन्छन् ।
जितु भन्नेबित्तिकै दर्शक कमेडीको अपेक्षा गर्छन् । ‘पाँच पाण्डव’मा त्यो अपेक्षा केही हदसम्म पूरा हुने उनको भनाइ छ । ‘यो एउटै मान्छेको होइन, पाँच भाइको कथा हो । हरेक कलाकारका आ–आफ्नै पाटा र कथा छन् । कथा र दृश्यले जति मागेको छ, त्यति कमेडी छ,’ उनी भन्छन् ।
जितुले यसअघि निर्देशक वसन्त निरौलासँग चलचित्र ‘ज्वाइँ साब’मा काम गरिसकेका छन् । लेखक सुशील पौडेलसँग पुरानै सम्बन्ध रहेको र नवीन श्रेष्ठसँग ‘लाज शरणम्’ निर्माणकै बेलादेखि चिनजान रहेको उनले बताए । ‘प्रायः भेटघाट भइरहने हुँदा फिल्म गरौं भन्ने कुरा भयो । पाँच पाण्डव चाहिँदा म त पर्ने नै भएँ,’ उनी भन्छन् ।
वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा जितुसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायतको अभिनय छ ।
काली रानी फिल्म्सको ब्यानरमा बनेको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलको हो । उनका अनुसार ‘सोसल ड्रामा’ विधाको यो चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
चलचित्रमा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको फाइट निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । संगीत अर्जुन पोखरेल, ध्वनि डिजाइन उत्तम न्यौपाने, पार्श्व संगीत सुजिल कर्माचार्य र भीएफएक्स पुकार धिमालको हो । दर्शकले चलचित्रमा डल्बी एटमस ध्वनिको अनुभव गर्न पाउनेछन् ।
चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ । ओएसआर डिजिटल चलचित्रको डिजिटल साझेदार हो ।




