
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । निर्माण टोलीले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको दोस्रो ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्रहरूले आफ्नो भूमिका प्रस्ट पार्ने प्रयास गरेका छन् । ट्रेलरको केन्द्रमा हरिवंश आचार्य छन् र पूरै ट्रेलर उनकै वरिपरि घुम्छ ।
पृथ्वीमा रहेका आफ्ना भाइहरू दुःखी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्ठिर अर्थात् हरिवंश भाइहरूलाई समस्याबाट कसरी मुक्त गराउने भन्ने चिन्तामा देखिन्छन् । उनी भीम, अर्जुन, सहदेव भन्दै नामकरण गर्दै चार भाइ बनाउँछन् र समस्यामा परेकाहरूलाई सहयोग गर्दै हिँड्छन् । अन्याय र विकृतिविरुद्ध उभिएका उनी पीडितहरूको उद्धारकका रूपमा देखिएका छन् ।
क्यासिनोमा छोटो लुगा लगाएकी युवतीलाई देखेर उनी उनको आङ ढाकिदिन्छन् । सभ्य समाज निर्माण हुनुपर्छ भन्ने उनको उद्देश्य ट्रेलरमा झल्किन्छ । अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह नै चलचित्रको मूल कथा रहेको ट्रेलरले संकेत गर्छ ।
यही कात्तिक २० गतेदेखि प्रदर्शन हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको मुख्य भूमिका छ ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार यो एक ‘सोसल ड्रामा’ हो, जसले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
चलचित्रको डिजिटल साझेदार ओएसआर डिजिटल हो । आरआर फिल्म्सले चलचित्र देशव्यापी वितरण गर्नेछ ।




