‘पाँच पाण्डव’प्रति विश्व हिन्दू परिषद्को आपत्ति, चलचित्र विकास बोर्डसमक्ष छानबिन र सुधारको माग



विश्व हिन्दू परिषद् नेपालका प्रतिनिधिले चलचित्र विकास बोर्डमा ‘पाँच पाण्डव’सम्बन्धी ध्यानाकर्षणपत्र बुझाउँदै

काठमाडौं । नेपाली चलचित्र ‘पाँच पाण्डव’मा महाभारतका पात्रहरूको प्रस्तुतीकरणप्रति विश्व हिन्दू परिषद् नेपालले गम्भीर आपत्ति जनाएको छ। चलचित्रका सार्वजनिक भएका गीत, दृश्य, संवाद तथा प्रचार सामग्रीले हिन्दू धार्मिक आस्था र सांस्कृतिक मर्यादामा चोट पुर्‍याउन सक्ने भन्दै परिषद्ले चलचित्र विकास बोर्डलाई औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो।

पत्रमा परिषद्ले चलचित्रको तत्काल निष्पक्ष छानबिन, आवश्यक सुधार र प्रदर्शनसम्बन्धी कानुनसम्मत निर्णय गर्न माग गरेको छ। माग सम्बोधन नभए देशव्यापी रूपमा शान्तिपूर्ण विरोध तथा चलचित्र बहिष्कार अभियान चलाउने चेतावनीसमेत परिषद्ले दिएको छ।

महाभारत हिन्दू सभ्यता, संस्कृति र दर्शनको धरोहर भएको उल्लेख गर्दै परिषद्ले भगवान् श्रीकृष्ण, युधिष्ठिर, अर्जुन, भीम, नकुल, सहदेव तथा द्रौपदी करोडौं हिन्दू धर्मावलम्बीको श्रद्धासँग जोडिएका पात्र भएको जनाएको छ। चलचित्रका केही दृश्य र गीतमा ती पात्रहरूलाई प्रस्तुत गरिएको शैलीले उनीहरूको धार्मिक तथा सांस्कृतिक गरिमा कमजोर पारेको परिषद्को ठहर छ।

सिर्जनात्मक स्वतन्त्रताको सम्मान गर्नुपर्ने भए पनि त्यसका नाममा धार्मिक आस्था र ऐतिहासिक पात्रहरूको मर्यादालाई बेवास्ता गर्न नहुने परिषद्को धारणा छ। धार्मिक पात्रहरूलाई मनोरञ्जन वा व्यावसायिक लाभका लागि प्रयोग गर्दा सम्बन्धित समुदायको आस्थाको सम्मान अनिवार्य हुनुपर्ने परिषद्ले जोड दिएको छ।

परिषद्ले बोर्डसमक्ष छवटा प्रमुख माग राखेको छ। चलचित्रका सार्वजनिक गीत, दृश्य, संवाद र प्रचार सामग्रीको तत्काल अध्ययन तथा छानबिन गर्न र प्रदर्शनअघि सम्पूर्ण चलचित्रको समीक्षा गरी धार्मिक आस्था, सांस्कृतिक मर्यादा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने सामग्री पहिचान गर्न परिषद्ले आग्रह गरेको छ।

त्यस्तै, आपत्तिजनक दृश्य, संवाद र प्रस्तुति हटाउन वा संशोधन गर्न निर्माण पक्षलाई निर्देशन दिन, निर्माता तथा निर्देशकसँग आधिकारिक स्पष्टीकरण माग्न र सुधार नगरी प्रदर्शन गर्न खोजिएमा प्रचलित कानुन तथा चलचित्र जाँच कार्यविधिअनुसार प्रदर्शन अनुमतिबारे निर्णय लिन माग गरिएको छ। भविष्यमा धार्मिक ग्रन्थ, देवीदेवता तथा श्रद्धेय पात्रहरूलाई चलचित्रमा प्रस्तुत गर्दा आस्था र मर्यादाको सम्मान सुनिश्चित गर्ने व्यवस्था गर्न पनि परिषद्ले ध्यानाकर्षण गराएको छ।

आवश्यक परे कानुनी तथा संवैधानिक उपाय अपनाइने पत्रमा उल्लेख छ। परिषद्ले यसबारे गरिएको कारबाही र निर्णयको लिखित जानकारी उपलब्ध गराउन पनि बोर्डलाई अनुरोध गरेको छ।

आफू धार्मिक सद्भाव, सहिष्णुता र सामाजिक एकताको पक्षधर संस्था भएको उल्लेख गर्दै परिषद्ले धार्मिक सहिष्णुताको अर्थ आफ्नो धर्म, संस्कृति र आराध्य पात्रहरूको अपमान सहेर मौन बस्नु नभएको जनाएको छ।

परिषद्ले चलचित्र विकास बोर्डलाई बुझाएको पूर्ण पत्र तल पढ्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu