‘कबड्डी ५’ बारे निर्देशक गुरुङ: ‘यो काजीको प्रेमपछिको व्यावहारिक जीवनको कथा हो’



काठमाडौं – ब्लकबस्टर चलचित्र ‘कबड्डी ४: द फाइनल म्याच’ सँगै काजीको कथा टुंगिएको अनुमानविपरीत निर्माण भएको ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ ले काजीको प्रेमपछिको व्यावहारिक जीवनलाई प्रस्तुत गर्ने भएको छ। निर्देशक रामबाबु गुरुङका अनुसार, चौथो शृङ्खलाले काजीको प्रेम जीवनको एउटा अध्याय टुंग्याए पनि दर्शकको अपार माया र हौसलाका कारण पात्रहरूको बाँकी कथालाई पाँचौं शृङ्खलामार्फत अगाडि बढाइएको हो। यसपटक चलचित्र जोक र पञ्चलाइनमा मात्र केन्द्रित नभई पात्रहरूको बढ्दो उमेर, परिपक्वता, अनुभव र बदलिँदो मनोदशालाई प्राथमिकतामा राखेर तयार पारिएको छ।

समयसँगै चलचित्रको कथा र परिवेशमा पनि परिवर्तन आएको छ। छायांकन स्थल मुस्ताङको पुरानो स्वरूप पक्की घर र सडकमा परिणत भएसँगै गाउँको बदलिँदो जीवनशैलीलाई चलचित्रमा देख्न सकिनेछ। त्यस्तै, बाठो र प्रविधिमैत्री पात्र ‘बीके’ (विजय बराल) लाई यसपटक ‘एआई’ प्रविधिसँग जोडिएको छ। चलचित्रमा विपीन कार्की ‘बमकाजी’ को नयाँ र रहस्यमयी भूमिकामा भित्रिएका छन् भने पुराना शृङ्खलाका मैयाँ र अन्य सोल्टिनीहरूसँगको ‘नोस्टाल्जिया’ समेत दर्शकले महसुस गर्न पाउने निर्देशक गुरुङले बताएका छन्।

दशैंको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। बाँसुरी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा मणिराम पोखरेल, मधु मिजार, विशाल गुरुङ (एलजी) र निर्देशक गुरुङ स्वयंको लगानी रहेको छ। सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको यस चलचित्रलाई ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले नेपालमा तथा सेभेन सिज इन्टरनेसनलले विदेशमा वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu