‘कबड्डी ५’ हेर्न उमेरको कुनै बार लागेन, पायो युनिभर्सल सर्टिफिकेट



काठमाडौं – ‘कबड्डी ५’ हेर्न अब उमेरको कुनै बार लागेन! हो, रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। अर्थात् अब यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।

चलचित्र जाँच समितिले शुक्रबार चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो। निर्देशक रामबाबु गुरुङका अनुसार, सेन्सर बोर्डका पदाधिकारीले ‘कबड्डी ५’ले अघिल्ला श्रृंखलाजस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएका छन्।

यसपटक ‘कबड्डी’मा कुरा अलि फरक छ। काजी, बीके र छन्त्याल बेरोजगारीबाट दिक्क भएर ‘शान्तिवाटिका होटल’ खोल्छन्। काजीको नयाँ वैवाहिक जीवन सुरु हुन्छ। उता विपीन कार्की ग्याङस्टारको धमाकेदार अवतारमा गाउँ छिर्छन्। अनि सुरु हुन्छ – काजीको टोली र विपीनको ग्याङबीचको टक्कर।

त्यसमाथि दर्शकले सबैभन्दा धेरै खोजेको शान्ति मिस अर्थात् मिरुना मगर पनि फर्किएकी छन्। टिजर, ‘थाक खोला’ गीत र ट्रेलरले यसअघि नै चलचित्रको हाइप निकै बढाइसकेको छ। अब युनिभर्सल सर्टिफिकेट पाएसँगै परिवारका सबै सदस्य मिलेर ‘कबड्डी ५’ हेर्न पाउने भएका छन्।

अघिल्ला चारवटै श्रृंखला ब्लकबस्टर भइसकेका छन्। त्यसैले प्रश्न एउटै छ – पाँचौँ भागले पनि ‘कबड्डी’को त्यो ब्लकबस्टर विरासत जोगाउला त? जवाफका लागि धेरै दिन कुर्नुपर्दैन। ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गते, अर्थात् दसैँको पर्सिपल्टदेखि हलमा आउँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu