‘कबड्डी ५’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा



काठमाडौं – बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिज ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) मा उक्लिएको छ। समाचार तयार पार्दासम्म करिब साढे ७ लाख भ्युज र हजारौं सकारात्मक प्रतिक्रिया बटुलेको यस ट्रेलरमा विशेषगरी निर्देशक रामबाबु गुरुङको निर्देशन, काजी (दयाहाङ राई) र नयाँ पात्रको रूपमा भित्रिएका विपीन कार्कीको दमदार अवतारलाई दर्शकले निकै रुचाएका छन्।

ट्रेलरमा बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति वाटिका होटल’ सञ्चालन गरेको रमाइलो कथा देखाइएको छ। साथै, नयाँ मैयाको रूपमा सिर्जना गुरुङसँग काजीको विवाह, शान्ति मिस (मिरुना मगर) को झलक र विपीन कार्कीको इन्ट्रीले कथामा आउने नयाँ ट्विस्टलाई रोचक र कौतुहलपूर्ण बनाएको छ। हास्य, एक्सन र पारिवारिक उतारचढाव समेटिएको यस ट्रेलरले ‘कबड्डी’ शृङ्खलाको पुरानै स्वादमा नयाँपन थपेको संकेत गर्दै दर्शकको अपेक्षा झनै बढाएको छ।

आगामी असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन्। दयाहाङ, विपीन, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ र मिरुना मगर लगायतका कलाकारहरूको जम्बो टोलीको अभिनय रहेको यस चलचित्रलाई बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो। मणिराम पोखरेल, मधु मिजार, विशाल गुरुङ (एलजी) र निर्देशक गुरुङ स्वयं निर्माता तथा सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको सङ्गीत रहेको छ। चलचित्रलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले तथा विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu