काठमाडौं हरर फिल्म फेस्टिभल सम्पन्न, ‘KNAR’ उत्कृष्ट छोटो र ‘इन दिस डार्कनेस आई सी यू’ उत्कृष्ट फिचर चलचित्र



काठमाडौं हरर फिल्म फेस्टिभलको पुरस्कार वितरण समारोह

काठमाडौं । काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण आइतबार सम्पन्न भएको छ । रसियन हाउस काठमाडौंमा समापन चलचित्रको प्रदर्शन र पुरस्कार वितरणसँगै महोत्सव सकिएको हो । मौसम प्रतिकूल भए पनि तीन दिनसम्म चलेको महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।

दर्शकको मतका आधारमा प्रतिस्पर्धामा रहेका १८ छोटा चलचित्रमध्ये आकाश धिमाल निर्देशित नेपाली चलचित्र ‘KNAR’ उत्कृष्ट छोटो चलचित्र घोषित भयो । त्यस्तै, प्रतिस्पर्धामा रहेका ६ फिचर चलचित्रमध्ये नादिम ताबेत निर्देशित ‘इन दिस डार्कनेस आई सी यू’ ले उत्कृष्ट फिचर चलचित्रको पुरस्कार जित्यो । यो चलचित्र फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण हो ।

महोत्सवको समापन मोराद मुस्तफा निर्देशित ‘आयशा कान्ट फ्लाई अवे’ बाट भएको थियो । इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको यो चलचित्र काइरोको ऐन शम्स बस्तीमा बस्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको संघर्षमा आधारित छ ।

महोत्सवमा चलचित्र हेर्दै अतिथि र दर्शक

समापन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल प्रमुख अतिथि थिए । समारोहमा नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्वमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको पनि उपस्थिति थियो । प्रमुख अतिथि खनालले नेपालमा हरर चलचित्रको प्रवर्द्धन गर्ने पहलको प्रशंसा गरे । राक्शायेभ र खोख्लोभाले चलचित्रमार्फत नेपाल र रुसबीचको सांस्कृतिक आदानप्रदान सुदृढ बनाउनेमा जोड दिए । समारोहमा महोत्सवका स्वयंसेवक तथा सहयोगीलाई कदरपत्र प्रदान गरिएको थियो ।

काठमाडौं हरर फिल्म फेस्टिभलका अतिथिहरू

यस वर्ष अन्तर्राष्ट्रिय खुला आह्वानमार्फत २१ देशका २६ चलचित्र छानिएका थिए, जसमा ८ फिचर र १८ छोटा चलचित्र थिए । तीमध्ये पाँचवटा नेपाली निर्माण वा सहनिर्माणका थिए, जसमा नेपाल–अस्ट्रेलियाको सहनिर्माण रहेको फिचर चलचित्र ‘मोक्ष’ पनि पर्छ । गत वर्ष २५ चलचित्र प्रदर्शनसहित सुरु भएको महोत्सवको यो दोस्रो संस्करण हो । कात्तिक १३ गते भएको उद्घाटन समारोहमा जापान, ब्राजिल, पाकिस्तान, फ्रान्स र रुसका कूटनीतिक प्रतिनिधिको उपस्थिति थियो ।

रसियन हाउस काठमाडौंमा महोत्सव स्थल

महोत्सव निर्देशक राशिक पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा विधागत चलचित्रप्रति ठूलो रुचि रहेको देखाएको बताए । उनका अनुसार हरर चलचित्रले फिल्मकर्मीलाई लोककथा, समाज र पहिचानजस्ता विषय खोतल्ने सशक्त माध्यम दिन्छ । हरर तथा विधागत चलचित्रमा काम गर्ने नेपाली फिल्मकर्मीका लागि महोत्सवले निरन्तर अवसर सिर्जना गर्ने उनले बताए ।

महोत्सवमा चलचित्रका पोस्टर हेर्दै दर्शक

नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको महोत्सवमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदार थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu