एक वर्ष पुगेको ‘परान’ : दोस्रो भागअघि नयाँ फिल्मको तयारी



फिल्म ‘परान’को एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सम्मान प्रदान गरिँदै

काठमाडौं । २०८२ सालको सबैभन्दा धेरै कमाउने नेपाली फिल्म ‘परान’को प्रदर्शन भएको एक वर्ष पूरा भएको छ । यही अवसरमा शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरेको निर्माण पक्षले फिल्ममा काम गरेका कलाकार, प्राविधिक तथा पत्रकारलाई सम्झनाको उपहार प्रदान गरेको छ ।

कार्यक्रममा फिल्मको दोस्रो भाग ‘परान २’को घोषणा हुने धेरैले अपेक्षा गरेका थिए । तर, निर्माण पक्षले न दोस्रो भागबारे केही खुलायो, न त कुनै नयाँ फिल्मको घोषणा नै गर्‍यो । ‘परान २’ बन्ने वा नबन्ने भन्ने प्रश्नमा निर्माता रञ्जित आचार्यले दर्शकजस्तै आफू पनि उत्सुक रहेको बताएर जवाफ टारे ।

यद्यपि, निर्माण टिम दोस्रो भागको तयारीमा जुटिसकेको फिल्मीखबरले स्रोतको हवालामा जनाएको छ । स्रोतका अनुसार ‘परान २’भन्दा पहिले टिमले अर्को नयाँ फिल्म बनाउनेछ, जसमा हाल चर्चामा रहेका एक अभिनेताले अभिनय गर्ने चर्चा छ । तर, उक्त फिल्मको नाम र कलाकारबारे निर्माण पक्षले अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन ।

गत वर्ष कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’को सुरुवात भने सहज थिएन । रिलिजपछिका पहिलो पाँच दिन दर्शक नपाउँदा फिल्म हलबाटै हट्ने अवस्थामा पुगेको थियो । तर, हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिन थालेपछि पहिलो हप्ताको अन्त्यतिरबाट फिल्मको कमाइ ह्वात्तै बढ्यो र करिब तीन हप्तासम्म हलहरू भरिभराउ भए । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कुल कारोबार गरेको छ ।

बाबु र छोराको सम्बन्धमा आधारित फिल्ममा वरिष्ठ अभिनेता नीर शाहको मुख्य भूमिका छ । उनीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली लगायतले अभिनय गरेका छन् । टेलिशृंखला ‘सक्किगो नि’बाट चर्चित दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यो उनको पहिलो फिल्म हो ।

‘परान’लाई रञ्जित आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्म निर्माणमा गोल्छाको यो पहिलो प्रयास थियो । निरन्तर फिल्म बनाउने उद्देश्यसहित उनीहरूले बाइस्कोप सिनेमा प्रालि स्थापना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu