
काठमाडौं । मंसिरको पहिलो सातादेखि छायाङ्कनमा जान लागेको चलचित्र ‘एक्का तीन’मा नायक सुशील श्रेष्ठको प्रवेश भएको छ । चलचित्रको निर्माणपक्ष र सुशीलबीच लिखित सम्झौता भइसकेको छ ।
हाल चलचित्र ‘साम्राज्य’को छायाङ्कनमा व्यस्त सुशीलले मंसिरको पहिलो सातादेखि ‘एक्का तीन’लाई समय दिनेछन् । नेपाली चलचित्र क्षेत्रमा एक्सन नायकको छवि बनाएका सुशीलको प्रवेशसँगै चलचित्रको कलाकार पङ्क्ति थप बलियो बनेको छ ।
रुपेश तामाङको निर्देशनमा बन्न लागेको यस चलचित्रमा नायिका पूजा शर्मा र कविता नेपाली पहिल्यै तय भइसकेका छन् । यी दुवै नायिकाले पनि एक्सन भूमिकामा आफ्नो छवि बनाइसकेका छन् । तीन एक्सन कलाकारको उपस्थितिले चलचित्रमा भरपूर एक्सन रहने अपेक्षा गरिएको छ ।
सुशीलको जोडी पूजा वा कवितामध्ये कोसँग बन्नेछ भन्ने विषयमा भने निर्माणपक्षले अहिलेसम्म केही खुलाएको छैन ।
चलचित्रको कथा सुमन गजमेरले लेखेका हुन् । जुना फिल्म्सले चलचित्र निर्माण गर्दै छ ।
‘एक्का तीन’को मुख्य भूमिकामा यसअघि गत चैतमा नायक पुष्प खड्का अनुबन्धित भएका थिए । तर, निर्धारित समयमा छायाङ्कन सुरु हुन नसकेपछि उनी सहमतिमै चलचित्रबाट अलग भए । अब उनको ठाउँमा सुशील श्रेष्ठ अनुबन्धित भएका छन् ।




