
काठमाडौं – न त कुनै ठूला चाडपर्व न त महँगा स्टार कास्ट ! साधारण हिसाबले नेपाली माटो सुहाउदो कथामा बनेको र प्रदर्शनमा आएको पारिवारिक सामाजिक ड्रामा चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको छ। साउन १ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको यस चलचित्रले हलहरूमा १०० औं दिनको गौरवमय यात्रा पूरा गरेको छ।
अरुण क्षेत्री, सिम्रन खड्का, लूनिभा तुलाधर, प्रकाश घिमिरे, सितादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय रहेको यो चलचित्रले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हल र चितवनको पर्सास्थित म्याङ्गो जनज्योती सिनेमा हलमा निरन्तर १ सय दिनसम्म प्रदर्शन जारी राख्दै शनिवार यो किर्तिमानी हासिल गरेको हो।
डा. भोला रिजालको कथा तथा डा. कपिल रिजालको निर्देशनमा तयार भएको यस चलचित्रलाई सुमन गिरी र डा. कपिल रिजालले संयुक्तरूपमा निर्माण गरेका हुन्। भोला रिजाल प्रोडक्सन प्रा.लि. र सुमन गिरी प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रले बक्स अफिसमा २६ करोड ३ लाख ग्रस कलेक्सन गर्दै नेपाली चलचित्र इतिहासकै दोस्रो धेरै कमाउने फिल्मको रूपमा आफ्नो नाम दर्ता गराउन सफल भएको छ।
अन्तर्राष्ट्रिय ठूला चलचित्रहरूसँगको चर्को प्रतिस्पर्धाका बीच पनि यस चलचित्रले दर्शकको बलियो साथ पाएको थियो। दर्शकहरूले यसको मर्मस्पर्शी कथावस्तु र कलाकारहरूको जीवन्त अभिनयलाई निकै रुचाएका छन्। १०० औं दिनको सफलतासँगै निर्माण टिमले दर्शक, हल सञ्चालक तथा मिडियाकर्मीहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।




