तीजको ठुलो फिल्म बन्यो ‘बेहुली’, शानदार २ करोड २७ लाख व्यापार गर्दै दोस्रो हप्तामा प्रवेशः अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरुमा पनि रिलिज



काठमाडौं – चलचित्र ‘बेहुली’ले पहिलो हप्तामा शानदार व्यापार गर्दै दोस्रो हप्तामा सुखद प्रवेश गरेको छ। प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार प्राप्त व्यावसायिक रिपोर्टका आधारमा यस चलचित्रले हालसम्म २ करोड २७ लाख रुपैयाँभन्दा बढी संकलन गरिसकेको छ। यो आम्दानी सँगै रिलिज भएका तथा केही अगाडि प्रदर्शनमा आएका अन्य चलचित्रहरूको तुलनामा निकै उच्च हो।

देशभरका विभिन्न हलहरूमा दर्शकको अत्यन्तै राम्रो साथ पाइरहेको यस चलचित्रका मुख्य कलाकारहरू पारस बम ठकुरी र दिव्या रायमाझी यतिबेला हलमै पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। हल भ्रमणका क्रममा हरेक ठाउँबाट उनीहरूले अभूतपूर्व माया पाइरहेका छन् भने दर्शकहरूले ‘बेहुली’लाई एउटा उत्कृष्ट र हेर्नैपर्ने चलचित्रको दर्जा दिएका छन्। दर्शकको यही बलियो प्रतिक्रिया र उत्कृष्ट व्यवसायका साथ चलचित्रले दोस्रो हप्तामा आफ्नो बलियो यात्रा जारी राखेको छ।

नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको यो चलचित्र संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आएको छ। यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ । यसमा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ लगायतको अभिनय रहेको छ। यस चलचित्रलाई माधव शर्माले लेखन तथा सशान कँडेलले निर्देशन गरेका हुन्। चलचित्रका प्रस्तुत कर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu