शुक्रबारदेखि तीन नयाँ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा: ‘झिँगेदाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो’



काठमाडौं – यस शुक्रबारदेखि फरक-फरक विषयवस्तुमा निर्माण भएका तीन नेपाली चलचित्रहरू ‘झिँगेदाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो’ एकसाथ प्रदर्शनमा आएका छन्।

देशभर डेढ सयभन्दा बढी शो प्राप्त गरेको सिक्वेल चलचित्र ‘झिँगेदाउ २’ ले दाजुभाइ र देउरानी-जेठानीबीचको पारिवारिक द्वन्द्व र आमाको महत्त्वलाई प्रस्तुत गरेको छ। ज्ञानेन्द्र देउजा निर्देशित यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल लगायतका कलाकारको अभिनय रहेको छ। सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको यस चलचित्रको टिजर, ट्रेलर र तीज गीत ‘धागो छिन्यो चर्खाको’ ले दर्शकमाझ राम्रो चर्चा बटुलेको छ।

त्यस्तै, राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘कार्की साइँला’ भरियाको सङ्घर्षको कथामा आधारित छ। बालकुमार राई निर्माता रहेको यस चलचित्रमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) को मुख्य जोडी रहेको छ भने सुशील पोखरेल, बीरेन्द्र सिंह कुशहुवा, मान्सी शर्मा लगायतको समेत अभिनय छ।

प्रेमकथामा आधारित अर्को चलचित्र ‘माया बस्छ कि के हो’ मार्फत सोनाल लामा र कस्मता निरौलाले मुख्य कलाकारको रूपमा डेब्यु गरेका छन्। राजु अधिकारी निर्देशित यस चलचित्रको छायांकन नेपालका साथै बेल्जियम, स्विजरल्याण्ड र नेदरल्याण्डमा गरिएको छ। मौनता श्रेष्ठको लेखन रहेको यस चलचित्रका निर्माता बहादुर सिंह तामाङ हुन्।

यसैबीच, गत हप्ता रिलिज भएका चलचित्रहरू ‘बेहुली’ र ‘पेन्सन पट्टा’ आजदेखि दोस्रो हप्तामा प्रवेश गरेका छन् । पारिवारिक र सामाजिक कथावस्तुमा आधारित ‘बेहुली’लाई देशभरका दर्शकले अत्यन्त रुचाएका छन् । यो चलचित्रले पहिलो हप्ता २ करोड २७ लाखको ग्रस व्यापार गर्दै सँगै प्रदर्शनमा आएका चलचित्रहरू मध्ये सबैभन्दा धेरै व्यापार गरेको वितरक गोविन्द शाहीले बताउनुभयो ।

‘बेहुली’का कलाकारहरू पारस बम ठकुरी र दिव्या रायमाझीले काठमाडौँसँगै चितवन, नेपालगन्ज र धनगढीका दर्शकलाई प्रत्यक्ष भेट्न हल पुग्नुभएको छ । त्यहाँ उहाँहरूलाई हजारौँ दर्शकहरूले स्वागर गर्नुभएको थियो । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको यो चलचित्र संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आएको प्रस्तुत कर्ता अर्जुन पोखरेलले बताउनुभयो । यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ । यस चलचित्रलाई माधव शर्माले लेखन तथा सशान कँडेलले निर्देशन गर्नुभएको हो । चलचित्रका प्रस्तुत कर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुनुहुन्छ भने कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu