
काठमाडौं – आगामी असोज २३ गतेदेखि नेपालमा प्रदर्शन हुन लागेको नेपाल, भुटान र भारतको सहकार्यमा निर्मित जम्बी हरर चलचित्र ‘टनेल-२६ : द कर्स बिनिथ द माउन्टेन’ को प्रचारप्रसारका लागि १६ सदस्यीय भुटानी टोली सोमबार बिहान नेपाल आइपुगेको छ। चलचित्रका निर्माता तथा अभिनेता संगय छेल्ट्रिमको नेतृत्वमा आएको उक्त टोली मंगलबार आयोजना हुने चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुनेछ।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्माता छेल्ट्रिमले एक वर्षभन्दा बढीको मेहेनतबाट हलिउड र बलिउडका चलचित्रलाई टक्कर दिने स्तरको चलचित्र निर्माण गरिएको दाबी गरे। त्यस्तै, चलचित्रका लेखक, निर्देशक तथा सम्पादक डीडी किन्लेले पनि प्रदर्शनलाई लिएर आफूहरू निकै रोमाञ्चित र आशावादी रहेको प्रतिक्रिया दिएका छन्। भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागको समेत सहयोग रहेको यस चलचित्रमा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादाको मुख्य अभिनय रहेको छ।
यस चलचित्रमा संगय छेल्ट्रिम फिल्म्सका साथै नेपाली व्यापारिक घराना चौधरी ग्रुपका निर्वाण चौधरी र अभिनेता प्रदीप खड्काको सहस्वामित्व रहेको ‘पिक एक्सभी स्टुडियोज’, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता र दोर्जी वाङ्चुक लगायतको निर्माण सहकार्य रहेको छ। चलचित्रमा दोर्जी वाङ्चुक कार्यकारी निर्माता र प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन् भने यसको नेपाल व्यवस्थापनको जिम्मा सन्तोष कुमार कार्की र लिभेन्टस् स्टुडियो प्रा.लि. ले सम्हालेका छन्।



