कथालयको पहिलो शृङ्खलामा दिपक समिरको ‘आहत उजेलीहरू’ मञ्चन हुने, रङ्गमञ्चमा कथा प्रस्तुतिको नयाँ शैली सुरु हुँदै



काठमाडौं । नेपाली रङ्गमञ्चमा कथा प्रस्तुतिको नयाँ शैलीका रूपमा ‘कथालय’ सुरु हुने भएको छ। कथालयको पहिलो शृङ्खलामा सञ्चारकर्मी तथा साहित्यकार दिपक समिरको कथा ‘आहत उजेलीहरू’ मञ्चन गरिने भएको हो।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आगामी असोज १८ गते साँझ ५ बजे हुने कार्यक्रममा कथा वाचनसँगै प्रत्यक्ष सङ्गीत, गायन, समकालीन नृत्य र मौन अभिनयको संयोजन रहनेछ। आयोजकले बुधबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै कार्यक्रमबारे जानकारी गराएको हो। सो अवसरमा ‘आहत उजेलीहरू’को केही अंशसमेत प्रस्तुत गरिएको थियो।

कथाकार समिरले स्वयं कथा वाचन गर्नेछन्। कला निर्देशक सुमन सागरजङ्ग केसीको नेतृत्वमा कलाकारहरूले मौन अभिनय तथा नृत्य प्रस्तुत गर्नेछन्। वाचनलाई थप प्रभावकारी बनाउन सङ्गीतकर्मी विकल खड्काको नेतृत्वमा सङ्गीत समूहले प्रत्यक्ष सङ्गीत प्रस्तुत गर्नेछ। कार्यक्रममा गायिका सुनिता कार्कीको स्वरमा गीतसमेत प्रस्तुत गरिनेछ।

विमल नेपालको संयोजनमा आयोजना हुन लागेको ‘कथालय’मा भोजबहादुर विश्वकर्माले सल्लाहकारको भूमिका निर्वाह गरेका छन्। एलिना दुलाल पंगेनीले मञ्च सजावट गर्नेछिन् भने श्रोता आचार्यले कार्यक्रम सञ्चालन गर्नेछन्।

‘आहत उजेलीहरू’ समिरको कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’मा सङ्ग्रहित कथा हो। वैदेशिक रोजगारीका कारण नेपाली समाजमा परेको प्रभावलाई कथाले प्रस्तुत गरेको समिरले बताए।

कथा वाचनमा मात्र सीमित नराखी विभिन्न कलाविधिलाई एकसाथ प्रस्तुत गरेर दर्शकलाई नयाँ अनुभव दिने उद्देश्यले ‘कथालय’ सुरु गर्न लागिएको उनको भनाइ छ।

“कथा सुन्ने हाम्रो पुरानो चलनलाई अब कथा हेर्ने प्रचलनमा बदल्ने प्रयास हो। कथा वाचन, सङ्गीत, गायन, समकालीन नृत्य र मौन अभिनयलाई एकै ठाउँमा सम्मिश्रण गरेर प्रस्तुति तयार गरेका छौँ,” समिरले भने।

करिब डेढ घण्टा लामो हुने प्रस्तुति ‘कथालय’को पहिलो शृङ्खला हो। पहिलो प्रस्तुतिपछि दर्शक तथा श्रोताबाट प्राप्त प्रतिक्रियाका आधारमा आगामी शृङ्खलाहरू तय गरिने आयोजकले जनाएको छ।

कथालाई नाटकका रूपमा मञ्चन गर्ने प्रचलनभन्दा फरक ढङ्गले कथा वाचनसँगै प्रत्यक्ष सङ्गीत, गायन, मौन अभिनय र नृत्यको संयोजनमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ। नेपाली संस्कृति र रङ्गमञ्चको मौलिकता कायम राख्दै सामाजिक विषयवस्तुलाई नयाँ शैलीमा प्रस्तुत गरी चेतना प्रवाह गर्ने उद्देश्यले ‘कथालय’ अघि बढाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu