
काठमाडौं – शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चंगुल’ को बुधबार राजधानीको लोत्से मलस्थित आइएनआई सिनेमाजमा प्रिमियर शो सम्पन्न भएको छ। चलचित्रकर्मी, विशिष्ट व्यक्तित्वहरू र ‘घाइते जेन्जी नेपाल’ संस्थाका घाइते अभियन्ताहरूको उपस्थिति रहेको उक्त प्रिमियरमा चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ।
समसामयिक राजनीति र त्यसको प्रभावलाई देखाइएको यस चलचित्रले विशेषगरी गत वर्षको जेन्जी आन्दोलनको विषयलाई उठान गरेको छ। चलचित्र हेरेपछि घाइते जेन्जी अभियन्ताहरूले यसले आफूहरूलाई एक वर्ष अगाडिका दिन झलझली सम्झाएको प्रतिक्रिया दिएका छन्। सोही अवसरमा निर्माण पक्षले घाइते जेन्जी नेपालका अध्यक्ष बादल राई लगायतका घाइते युवाहरूलाई सम्मान समेत गरेको थियो।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको यस चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल र रोहित ढुंगानाका साथै बालकलाकार रिम्शा कार्कीको अभिनय रहेको छ।
प्राविधिक पक्षतर्फ दीपेन बस्न्यातको छायांकन तथा सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन र विपिन आचार्य, नन्दनी अधिकारी तथा विक्रम कार्कीको सङ्गीत समावेश छ। चलचित्र टिमले यसबाट प्राप्त हुने नाफाको केही हिस्सा ‘घाइते जेन्जी नेपाल’ लाई प्रदान गर्ने र बाढीपीडितको सहयोगार्थ समेत छुट्याउने प्रतिबद्धता जनाउँदै आएको छ।




