
काठमाडौं – दोस्रो राष्ट्रिय चलचित्र दिवसको अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्पूर्ण नेपाली चलचित्रकर्मी, कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा चलचित्र क्षेत्रसँग आबद्ध सबैलाई शुभकामना व्यक्त गरेका छन्।
मन्त्री तिमिल्सिनाले राष्ट्रिय चलचित्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपाली चलचित्रलाई कला, संस्कृति, मौलिकता र राष्ट्रिय पहिचानलाई उजागर गर्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गरेका छन्। उनले नेपाली समाजका कथा, संवेदना र सिर्जनशीलतालाई पर्दामार्फत प्रस्तुत गर्दै नेपाली चलचित्रकर्मीले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र व्यवस्थित व्यवस्थापनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको दीर्घकालीन विकास, चलचित्रकर्मीको पेसागत हित, नेपाली चलचित्रको प्रवर्द्धन तथा अन्य सरोकारका विषयमा आवश्यक व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शुभकामना सन्देशमा नेपाली चलचित्रले थप उचाइ हासिल गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको मौलिक कथा, कला र प्रतिभालाई परिचित गराउन सफल भएको उल्लेख गरिएको छ।
मन्त्री तिमिल्सिनाले नेपाली कलाकार, प्राविधिक तथा चलचित्रकर्मीको सिर्जनशीलता र क्षमता अझ व्यापक रूपमा विश्वमाझ पुग्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।
उनले राष्ट्रिय चलचित्र दिवसले नेपाली चलचित्र क्षेत्रको योगदान, सम्भावना र भविष्यका विषयमा थप बहस तथा सहकार्यका लागि वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, चलचित्र क्षेत्रको विकासका लागि सरकार, चलचित्रकर्मी तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको सन्देशमा जोड दिइएको छ।
राष्ट्रिय चलचित्र दिवसका हरेक वर्ष असोज १५ गते मनाइने गरिन्छ।





