‘चिरञ्जीवी भवः’को पहिलो गीत ‘जाले रुमाल’ सार्वजनिक, आशीर्वाद र प्रशंसाको बिहेमा रमाइलो नाच



चलचित्र ‘चिरञ्जीवी भवः’को गीत ‘जाले रुमाल’मा प्रशंसा रायमाझी र आशीर्वाद क्षेत्री

काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘चिरञ्जीवी भवः’को पहिलो गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ। नाचगान शैलीको यो गीत चलचित्रका मुख्य जोडी आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको बिहेको प्रसङ्गमा तयार पारिएको छ।

गीतको भिडियोमा बिहेको रौनकबीच आशीर्वाद र प्रशंसा जोसिलो नाचमा देखिन्छन्। प्रशंसाको यो पहिलो चलचित्र हो। भिडियोमा हरिवंश आचार्य, करिश्मा मानन्धर, दीपकप्रसाद आचार्य, हरिस निरौला, सुमन कार्कीलगायत कलाकार पनि बिहेको माहोलमा रमाउँदै गरेका छन्।

चलचित्रका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले नै यो गीत लेखेका हुन्। बाबुल गिरीको सङ्गीत रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरी स्वयंको स्वर छ। नृत्य निर्देशन गम्भीर विष्टले गरेका हुन्।

हजुरबुबा र नातीबीचको सम्बन्धमा केन्द्रित यो चलचित्रको कथा कलाकार कुमार कट्टेलको हो। लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका छन्। चलचित्रका लागि रञ्जित गजमेर, बाबुल गिरी, अनमोल थापा, सुशान्त गौतम र समीर खरेलले सङ्गीत तयार पारेका छन्। छायाङ्कन शिवराम श्रेष्ठ र सम्पादन मित्र डी गुरुङको रहेको छ।

चलचित्रमा कमलमणि नेपाल, अभय बराल, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, मिश्री थापा, गीता अधिकारी, काजल कर्ण, दिव्य पौडेललगायत कलाकारको पनि अभिनय छ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्माता उमेशकुमार बराल र चिरन केसी हुन्। कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu